Breaking News
चितवनमा आज एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

चितवन, असोज २४–
चितवनमा आज (शनिबार) एकैदिन तीन जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको बागमती वडा नं.६ निवासी ८५ वर्षीया महिलाको आज अपरान्ह ४ः५३ बजे मृत्यु भएको हो । असोज १५ गते अस्पताल भर्ना भएकी ती महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
यस्तै सोही अस्पतालमा सर्लाहीको हरिवन–१० का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको आज साँझ ५ः३३ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
असोज ८ गते सडक दुर्घटनामा घाइते भएपछि उनी चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनको मेजर अप्रेशन समेत गरिएको अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।
यसैगरी भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत भरतपुर महानगरपालिका–१ का ४७ वर्षीय पुरुषको आज (शनिबार) साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा सारिएको थियो । सबै उपचार अपनाउँदा अपनाउँदै उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।
























