अन्तर्वार्ता

जापान विद्यार्थी भिसामा लचक, हानामीबाट ९५ प्रतिशत सीओई: सुवेदी

Banner

किशोर सुवेदी चितवनको शैक्षिक कन्सल्टेन्सीको क्षेत्रमा चिरपरिचित नाम हो । विसं २०४७ साल भदौं १२ गते भरतपुर महानगरपालिका–९ शरदपुरको धारेचोकमा जन्मिनुभएको सुवेदीले प्राथमिक तहको शिक्षा लिटल स्टार बोर्डिङ स्कुलबाट सकेपछि १२ कक्षा काठमाडौँबाट पूरा गर्नुभयो । त्यसपछि १८ वर्षको कलिलो उमेरमा नै विद्यार्थी भिसामा जापान जानुभयो । जापानबाट पाँच वर्ष बसेर फर्किएपछि एउटै कलेज पढेर फर्किएका शंकरबहादुर रिजालसँग मिलेर सन् २०१४ मा भरतपुरको सीजी ल्याण्डमार्क अगाडि हानामी इन्टरनेशनल एजुकेसनल प्रालिको स्थापना गर्नुभयो । आज यस एजुकेसनको पोखरा र चितवनको पर्सामा पनि शाखा खुलेका छन् । हानामीमा २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

हानामी एउटा शैक्षिक संस्था मात्र नभएर चितवनको खेलकुद क्षेत्रमा पनि आफ्नो राम्रो छवि बनाएको छ । एजुकेसनले धुर्मुस सुन्तली फाउण्डेसनलाई सुरुवातकै अवस्थामा अन्यत्रबाट सहयोग नजुट्दै एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ भने भरतपुरको बीएफसी क्लबलाई र एभरेष्ट क्लबलाई प्रायोजन गरेको छ । हानामीले क्रिेकट टुर्नामेन्ट र फुटसल प्रतियोगिताहरु पनि आयोजना गर्दै आइरहेको छ । खेलकुदको विकाससँगै अन्य सामाजिक सेवाका क्षेत्रमा पनि विशेष पहिचान बनाएको हानामी एजुकेसनका प्रवन्ध निर्देशक सुवेदी आफै पनि खेलप्रेमी र सामाजिक सेवामा रमाउने व्यक्तित्व हुनुहुन्छ । विशेष त जापानिज भाषा, संस्कृति र शिक्षामा विशेषज्ञता हासिल गर्नुभएको सुवेदीसँग नारायणी अनलाइनले व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ वार्ताको सम्पादित अंश :

प्रश्न: हानामी शब्दले के बुझाउँछ ? कन्सल्टेन्सी खोल्ने सोच कसरी आयो ?

हानामी शब्दले जापानमा पाइने एक प्रकारको फूललाई बुझिन्छ । जापान गएर आइसकेपछि नेपालमा नै केही गर्ने भन्ने सोच आयो । जापानका विश्वविद्यालयहरुसँग बनेको सम्बन्धलाई उपभोग गर्दै नेपाली विद्यार्थीहरुलाई जापान जान सहज होस् भन्ने अभिप्रायले हानामीको स्थापना गरिएको हो ।

प्रश्न ः हानामी कन्सल्टेन्सीका विशेषताहरु के के छन् ?

अन्य जापानिज कन्सल्टेन्सीहरु भन्दा हानामीहरुको भन्दा भिसा उपलब्ध हुने रेसियो राम्रो रहेको छ । जापानको ६४ वटा विश्वविद्यालयहरुसँग हाम्रो प्रत्यक्ष सम्पर्क छ । हामी धेरै विश्वविद्यालय तथा कलेजहरुको नेपाल प्रतिनिधिको रुपमा काम गरिरहेका छौं । हामी विद्यार्थी र अभिभावकहरुलाई झुक्याउने भन्दा पनि यथार्थ जानकारी दिएर वैदेशिक शिक्षाको यात्रा सफल बनाउने अभियानमा लागिरहेका छौं । हानामीमा चितवनमात्र नभई पश्चिमा दाङदेखि पूर्वमा मकवानपुरदेखि विद्यार्थीहरु अध्ययन गर्न आउँछन् । भिसा प्रक्रियामा अभिभावक र विद्यार्थीहरुलाई राम्रोसँग जानकारी दिँदै प्रक्रिया अगाडि बढाउने गरेका छौं । सबैभन्दा ठूलो कुरा जापान जान विद्यार्थी भिसा पाउने मात्र नभएर विद्यार्थीहरु प्रति जापानका कलेजहरु सहयोगी हुनुपर्छ । हामी जापानको भाषा, संस्कृति नियम कानुनहरुको बारेमा जानकारी दिँदै जापानमा कुनै पनि झन्झट विद्यार्थीलाई नपर्ने गरेर विद्यार्थी पठाउने गरेका छौं ।

प्रश्न : आजसम्म कति विद्यार्थी जापान पठाउनुभयो ?

ठ्याक्कै एकीन त भन्न सक्दिन तर पनि आजसम्म हामीले धेरैभन्दा धेरै विद्यार्थी जापान पठाइसकेका छौं ।

प्रश्न: जापान जान चाहने विद्यार्थीहरुलाई लकडाउनको असर कस्तो छ ?

अहिले पनि हानामी एजुकेसनबाट अनलाइन आवेदन र अनलाइन कक्षा चलिरहेको छ । यसै अक्टोबर महिनामा पनि ९५ प्रतिशत विद्यार्थीको सीओई आएको छ । कतिपय अभिभावक तथा विद्यार्थीहरुलाई यस्तो समयमा भिसा नै लागेको छैन होला भन्ने छ तर लकडाउनले जापानले झनै बढी लचकता अपनाएको छ । सीओई वा भिसा प्राप्त गरेपछि विद्यार्थीलाई २०२१ सम्म जापान जान मिल्ने व्यवस्था गरेको छ । जापानले विश्वका १५३ देशका नागरिकलाई जापान जान रोकेको थियो तर अहिले अक्टोबर १ बाट जान मिल्ने व्यवस्था गरेको छ । अहिले विद्यार्थी जापान पुगेपछि विमानस्थलबाट सम्बन्धित कलेजले लगेर १४ दिनसम्म क्वारेन्टिनमा राख्ने गरेको छ ।

प्रश्न : जापानमा रोजगारीको अवसर कस्तो छ ?

जापानमा विद्यार्थीले हप्ताको २८ घण्टा काम गर्न पाउँछन् । चार वर्ष राम्रोसँग पढ्नासाथ शत प्रतिशत भिसा परिवर्तन गरेर बस्न सक्छ । कलेजमा नियमित पढेको मानिस जापानमा कहिल्यै पछुताउनु पर्देन । पढ्न भन्दा २४ सैं घण्टा काम गर्न खोजेमा भने त्यसले समस्या निम्त्याउँछ । कतिले पढाइ भन्दा कामलाई प्राथमिकता दिएर नै करिअर बिगारेका छन् । पढाइमा नियमित भएर त्यहाँको नियम कानुनलाई राम्रोसँग पालना गरेमा वर्किङ भिसामा परिवर्तन गर्न सजिलो हुन्छ । कलेजमा ८० प्रतिशत भन्दा बढी हाजिरी चाहिन्छ ।

म प्रथमपटक जापान जाँदा त्यहाँ नेपालीहरु भेट्न मुस्किल थियो । अहिले नेपालीलाई धेरै सजिलो भएको छ । जतापनि नेपाली भेटिने भएकोले काम खोज्न कुरा गर्न सजिलो छ । त्यहाँ जन्मदर घट्दै गएकोले पनि विदेशीलाई काम पाउन र आफ्नो भविष्य राम्रो बनाउन जापानमा सजिलो छ ।

प्रश्न : जापानमा छात्रवृत्तिको अवस्था कस्तो छ ? कुन तहको विद्यार्थी जापान जान राम्रो हुन्छ ?

विश्वमै धेरै छात्रवृत्ति दिने देशमा जापानका विश्वविद्यालय तथा कलेजहरु पर्दछन् । सुरुमा छात्रवृत्ति नभए पनि त्यहाँ गएर अध्ययन गर्न थालेपछि विद्यार्थीको बानी व्यहोरा र भाषाको ज्ञानलाई आधार बनाएर उनीहरुले छात्रवृत्तिको व्यवस्था गर्छन् ।

अहिले हामीले मुख्य प्राथमिकता दिएको १२ कक्षा पासलाई हो । तर, स्नातक तह पास गरेर गएमा विद्यार्थीले छिट्टै वर्किङ भिसामा परिवर्तन गर्न पाउँछ । जापानका विश्वविद्यालय तथा कलेजहरुले यहाँको स्नातक तहको पढाइलाई पनि मान्यता दिन्छन् । अहिले जापानमा नर्सिङलगायत विभिन्न प्राविधिक शिक्षालाई पनि विशेष प्राथमिकता छ । विश्वकै धेरै वृद्धवृद्धाहरु भएको देशहरु मध्ये जापान पनि एक हो । त्यहाँ स्कुल भन्दा धेरै वृद्धाश्रम छन् । विश्वका ९० प्रतिशत राम्रा गाडी जापानबाट आउँछ । त्यसैले प्राविधिकतर्फ इञ्जिनियरिङ, नर्सिङलगायत धेरै विषयहरुको महत्व जापानमा बढी छ । जापानले समयलाई र कामलाई बढी महत्व दिन्छन् । समयलाई ख्याल गर्दै अनुशासित ढंगले काम गर्न सकेमा जापानमा कमाइसहित भविष्य पनि धेरै राम्रो छ । परम्परा र राम्रो संस्कृति भएको देश जापानमा काम वा सीप सिकेर नेपाल फर्कियो भने पक्कै राम्रो हुन्छ ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>