Breaking News
चितवनमा लकडाउन खुले पनि व्यापार बढ्न सकेन, पहिलेको अवस्थामा फर्कन समय लाग्ने

चितवन, असोज १२
लामो समयको लकडाउन निशेधाज्ञा खुकुलो भएसँगै चितवनका बजार क्षेत्रमा पनि चहलपहल बढ्दो छ ।
सवारीसाधनको चाप बढ्दो छ भने बजार क्षेत्रका सबैजसो पसलहरु खुलिसकेका छन् । कोरोनाले थला पारेको व्यवसाय तंग्रिने विकल्प खोज्दै छ । दसैँ पनि नजिकिँदै छ । यद्यपि गत वर्ष दसैँ नजिक आउँदा पसलहरुमा जुन किसिमको भीडभाड देख्न सकिन्थ्यो त्यो भने न्यून छ । शुक्रबार बजार क्षेत्र पुग्दा केही पसलमा फ्याट्ट फुट्ट ग्राहक देख्न सकिन्थ्यो भने । कति फेन्सी पसलका व्यवसायी घोप्टो परेर मोबाइल चलाउँदै थिए । कति भने ग्राहकको पर्खाइमा थिए ।
नारायगढ संगम मार्केटका एस सु सेन्टरका प्रोपाइटर सन्तोष पाण्डे व्यापार शून्य बराबर भएको सुनाउनु हुन्छ । निशेधाज्ञा खुले पनि व्यवसायमा कमाउने भन्दा नि घाटामा गएको उहाँको गुनासो छ । ‘साहुको भाडा तिर्न प¥यो, बैँकको ब्याज तिर्नुपर्ने , पसलमा आएर खाजा खानुप¥यो झनै ऋणात्मक अवस्थामा छौ । दशै तिहार आए पनि सामान थप्ने नथप्ने अन्योल छ । सरकारले स्पष्ट नीति नआइसकेकोले फेरि लकडाउन थप्ने हो कि !’ अन्योलग्रस्त हुँदै उहाँ भन्नु हुन्छ ।
चितवनमा गत साउन ३१ गते देखि निशेधाज्ञा छ । यद्यपि भदौ १९ देखि भने यो निशेधाज्ञा खुकुलो छ ।
नारायणगढकै संगम भाडा पसलका खगेन्द्रराज सापकोटा बोहोनी नै १\२ बजेतिर हुने बताउनु हुन्छ । पहिले ४० / ५० हजारको सामान बिक्री हुन्थ्यो खै अहिले १० प्रतिशत पनि छैन उहाँ सुनाउनु हुन्छ । ‘भरतपुर कमलनगरकी किरण श्रेष्ठ भन्नुहुन्छ, ‘फेरि लकडाउन लकडाउन भन्या छ फेरि बन्द हुने होकी ।’ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोरोनाले गर्दा लगाइएको लकडाउनले व्यवसायमा नराम्रोसँग प्रभाव पारेको सुनाउनुहुन्छ । चितवनमा लकडाउन खुलेयता व्यवसाय विस्तारै अघि बढे पनि जम्मा २० देखि २५ प्रतिशत व्यापार भइरहेकोमा पहिलेकै अवस्थामा पुग्न ६ महिनादेखि २ वर्ष लाग्ने बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा फेरि लकडाउनको हल्ला चलिरहँदा सरकारले लकडाउनले देशको अर्थतन्त्र नै धरासायी भइरहेको अवस्थामा लकडाउनको अवधारणा छाड्नुपर्छ ।’ पोल्ट्रीको हब, पर्यटकीय हिसाबले पनि अब्बल ठाउँ चितवनमा ठूलाठूला व्यवसाय, उधोग सञ्चालनमा छन् । लकडाउनले धरासायी भएका यस्ता व्यवसायी उकास्न अब सरकारले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
























