Breaking News

निरन्तरको वर्षाले भरतपुर जलमग्न, अधिकांश सरकारी कार्यालय डुवानमा

Banner

चितवन, असोज ८-

मंगलबार रातिदेखि परेको निरन्तरको वर्षाले भरतपुरका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । भरतपुर महानगरपालिकाको मुख्य मुटु मानिएको वडा नम्बर १० का विभिन्न सडक, सरकारी कार्यालय र व्यक्तिगत निवासमा मानिस आवतजावत नै गर्न नसक्ने गरी जलमग्न भएका हुन् । दीर्घकालिनरुपमा विकासको संरचनाहरु बनाउन नसक्दा नै यस्तो अवस्था आएको स्थानीय सरोकारवालाहरु बताउँछन् ।

विगत दुई दशकदेखि भरतपुर महानगरपालिका वडा नम्बर १० को नहरचोकमा बस्दै आउनुभएका मानवअधिकारकर्मी तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेलले भरतपुरमा भएको अव्यवस्थित ढल र विकासको कारणले नागरिकले डुबानको समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ मेघा ढल बनाएर सबैतिरको पानीलाई फाल्न नसकेसम्म यो समस्या रहन्छ । अहिले बनेका ढलहरु धेरै सानो हुनु र त्यसको नियमित सरसफाई नहुदा पनि समस्या आएको छ । ’ मानवअधिकारकर्मी पौडेलले वर्षा याममा सबैलाई पानीको निकासबारे चिन्ता हुने र असोज १५ लागेपछि सबै बिर्सने समस्याले गर्दा पनि यस्तो भएको हो । उहाँले भन्नुभयो, ‘ तलबाट नहर मिचिँदै आयो र वडा नम्बर १० मा पनि नहर मिचेर संरचनाहरु बने । त्यसको रेखांकन भएन । दीर्घकालिन योजना बनाएर पानीको निकास गर्ने बारे सोच्नुपर्छ ।’

भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारीको घर पनि डुबानमा परेपछि अध्यक्ष भण्डारीले फोटोसहित सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नुभएको छ । आज गरिएको पोष्टमा धेरै भन्दा धेरैले विशेष चासो राखेर प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्राध्यापक विनोदखण्ड तिमिल्सिनाले एकीकृत विकास योजना नबन्नुको समस्याले यस्तो समस्या आएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो,‘ नहर पुरेर बाटो, पानी बग्ने घोल पुरेर बाटो, नाला ढल केही नसोची बाटो, जसरी पनि बाटोमात्र विकास हो भन्ने विचारको चेपुवामा ‘विकास’ कुजियो ।’ उहाँले गम्भीर आत्मसमीक्षासहित एकीकृत विकास योजना बनाएर लागू गर्नुपर्ने सल्लाह दिनु भएको छ ।

फेसबुकमा नै प्रतिक्रिया दिँदै नारायण शर्मा विपिनले ‘घर हैन करेशा रैछ भनेर भन्लान् नि दाजु ।’ भन्दै वडामा रहेका ठूला नहरका नाला थिए, कुला थिए ती सबै खोज्न अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि हुनु अगाडिनै वडा न. १० कै सचेत अगुवाहरु जसमा सबै राजनीतिक दलका जिम्मेवार नेताहरु पनि सम्मिलित एउटा सरोकार समितिको निर्माण गरेर मिचिएका नहरहरु र सार्वजनिक स्थलहरुको बारेमा तत्कालीन नगरपालिका, जिविस र राजनीतिक दलहरु सबैलाई ज्ञापन पत्र दिएको सम्झना छ मलाई । मौका यही हो , मेयर रेनु दाहालजीलाई पनि अनुरोध हो , पहलकदमी लिउँ , त्यही ज्ञापनका आधारमा मिचिएका नहर र सार्वजनिक स्थल पुन कायम गरौं ।’

यसरी उहाँको घर जलमग्न भएको विषयमा झण्डै ७० जनाले प्रतिक्रिया व्यक्त गरेका छन् । फेसबुकमा नै रामजीसिंह ठकुरीले भरतपुरको भरतपुर मावि र स्याउली बजारतिर पनि त्यस्तै भएकोले वडा अध्यक्षलाई हेर्न आउन अनुरोध गर्नुभएको छ । कतिपयले जनताको घरको के हालत भयो होला भनेर पनि प्रतिक्रिया दिएका छन् । वडा अध्यक्ष भण्डारीले भने नारायणी अनलाइनलाई केही दिन अघि प्रतिक्रिया दिँदै नहर पुर्ने काम अहिलेको जनप्रतिनिधिले नगरेको भन्दै हिजोदेखि गल्ती हुँदै आएको बताउनु भएको थियो । आखिर जसले गरे पनि बिगतका गल्तीहरु सच्याउँदै महानगरको दीर्घकालिन विकासमा ध्यान दिन आवश्यक देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>