स्वास्थ्य

अनियमिततामा साथ नदिदा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शाखा प्रमुखको सरुवा

Banner

धरान,असोज ७-

अनियमिततामा साथ नदिदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खरिद शाखा प्रमुख विष्णु चापागाईको ४ महिना पनि नपुग्दै सरुवा भएको छ । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख चापागाईको सरुवा गरेका हुन् । व्यापारीहरू सँगको मिलेमतोमा भएको अनियमिततामा साथ नदिए पछि उनलाई सरुवा गरिएको स्रोतले बताएको छ ।

चापागाईले मंगलबार उपकुलपति कार्यालयबाट सरुवाको पत्र पाएका थिए । उनको अप्रत्यासित सरुवामा अन्य सरोकारवाला पदाधिकारीसँग कुनै छलफल वा परामर्श पनि भएको छैन । खरिद शाखा प्रमुखबाट चापागाईलाई शैक्षिक प्रशासन शाखामा पठाइएको छ ।

सामान्यतः वीपीमा कर्मचारीहरुको सरुवा दुई बर्षमा रजिष्टारको सिफारिसमा हुने प्रावधान छ । तर, खरिद शाखा प्रमुख चापागाईले धरानका व्यापारी चेतन अग्रवाल र उनको सेटिङ अनुसार काम गर्न नमानेपछि उपकुलपति कार्यालयमार्फत सरुवा गराएको प्रतिष्ठान स्रोतको भनाई छ । अहिले खरिद शाखा प्रमुखमा आफुहरुलाई अनुकुल हुने गरि सामान्य प्रशासनबाट अशोक साहलाई सरुवा गरेर लगिएको छ । चापागाईलाई शैक्षिक शाखामा सरुवा गरिएको भनिए पनि उनलाई त्यस शाखा अन्तर्गतको एकेडेमिक ब्लकमा सरुवा गरिएको छ । त्यहाँ कुनै कार्यालय छैन । पढाई हुँदा मात्र त्यो भवन प्रयोग हुन्छ । अहिले पढाई पनि बन्द भएकोले त्यहाँ कुनै काम छैन ।

चापागाईले पनि आफुलाई एक्कासी सरुवाको पत्र आएको बताए । कुनै जानकारी विना नै एक्कासी पत्र आउदा आफु आश्चर्यमा परेको चापागाईले बताए । ‘मलाई एक्कासी सरुवाको पत्र आयो, सरुवाको कारण के हो ? त्यसको छलफल र जानकारी औपचारिकरुपमा भएन, सरुवाको पत्र पाएको छुँ,’चापागाईले फोन सम्पर्कमा भने । उनले यो बिषयमा थप कुराकानी गर्न भने चाहेनन् ।

कोरोना संक्रमित भएपछि प्रतिष्ठानका उपकुलपति डा.गिरी आइसोलेसनमा छन् । रष्ट्रिार प्रा.डा.मोहनचन्द्र रेग्मी कार्यालयको कामले काठमाण्डौंमा छन् । सामान्यतय कर्मचारी सरुवा रजिष्ट्रारको सिफारिशमा उपकुलपतिले गर्नुपर्ने हुन्छ । तर रजिष्टार डा. रेग्मीले आफु कार्यालयको काममा काठमाडौ भएकाले चापागाईको सरुवाको बारेमा जानकारी नभएको बताए । अस्पताल निर्देशक प्रा.डा गौरीशंकर अग्रवालले पनि आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । सरुवा पत्रमा उपकुलपति डा.गिरीको हस्ताक्षर छ । यसबिषयमा सम्पर्क गर्दा उपकुलपति गिरीले फोन उठाएनन् ।

सरोकारवाला पदाधिकारीहरुलाई नै जानकारी नदिई खरिद शाखा प्रमुख चापागाईको सरुवा गर्नुमा उपकुलपति गिरीको सल्लाहकार पनि भनिएका स्वकीय सचिव दिलिप भट्टराई र उनको टिमको हात रहेको स्रोतको दाबी छ । ‘यो सरुवा गराउन उनको हात छ,’स्रोतले भन्यो,‘उपकुलपतिबाट हुने हरेक निर्णय उनको प्रभावमा हुन्छ ।’

स्रोतका अनुसार कोभिड अस्पतालमा नियम र प्रक्रिया मिचेर लाखौंको सामानहरु खरिद गरिएको थियो । विना विधि र प्रक्रिया खरिद गरिएको ती सामानको हिसाब किताब पुरानो मितिमा मिलाउनुपर्ने बाध्यता छ । त्यस अनियमित कार्यमा चापागाईले साथ नदिएको स्रोतको भनाई छ । ‘फोनको भरमा व्यापारीसँग सेटिङ गरेर प्राइभेट कम्पनीमा जस्तरी धमाधम सामानहरु किनिएको छ । त्यसलाई अब पुरानो मितिमा मिलाउनु पर्ने छ,’प्रतिष्ठान स्रोतले भन्यो,‘चापागाई सरले त्यसो गर्न नमाने पछि सरुवा गराएको हो ।’

कोभिड अस्पतालको अटोमेटेड एनालाइजरु, बायोसेफ्टि क्याबिनेट, एसी लगायत ल्याबको सामान तथा अन्य उपकरणहरु कोभिड अस्पताल प्रमुख, मेसिन प्रयोग गर्ने विभागको स्वीकृति विना नै खरिद प्रक्रिया मिचेर खरिद गरिएको स्रोतको दाबी छ । यसबाहेक चापागाईले खरिद प्रक्रियामा एक लाख भन्दा कमका टुक्रे खरिदलाई पनि निरुत्साहित गरेका थिए । एक लाखसम्मको सामान प्रक्रिया केही पनि पुरा नगरी सोझै किन्न सकिन्छ तर ५ लाख बढिको खरिद प्रक्रियामा सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मार्फत व्यवस्थित गर्ने काम चापागाईले गरे । पिपिएमओ मार्फत खरिद गर्दा सेटिङ सम्भव हुदैन । त्यसैले बषौंदेखि प्रतिष्ठानलाई दुहुनो गाई बनाएका व्यापारीको स्वार्थ र सेटिङ तोडिने भएपछि उनलाई सरुवा गरिएको स्रोतको भनाई छ ।

सिस्टम बसाउन सरुवाः भट्टराई

उपकुलपतिका सल्लाहकार एवं स्वकीय सचिव दिलिप भट्टराईले भने नियमित प्रक्रिया अन्तर्गत नै खरिद शाखा प्रमुखबाट चापागाईको सरुवा भएको दाबी गरे । प्रतिष्ठानमा सिस्टम बसाउन कार्यालयले सरुवा गरेको उनको भनाई छ । ‘उहाँको मात्र होइन, सामान्य प्रशासन, कोभिड अस्पताल, गेष्ट हाउसमा पनि ४, ५ जनाको सरुवा भएको छ । सिस्टम बसाउनको लागि यो नियमित प्रक्रियामा भएको हो,’उनले भने,‘कार्यालयलाई सिस्टममा ल्याउन खोज्दैछौं । हिजोको बेथिति जे जस्ता थिए, चिर्न खोजिएको हो । सिमित ठाउँमा ३ महिना भन्दा धेरै राख्ने गरेका छैनौं ।’ कोभिड अस्पतालको सामान खरिदको प्रसंगमा उनले कुनै गलत कार्य नभएको पनि भट्टराईले दाबी गरे । उनले भने,‘त्यस्तो कुनै प्रमाण, कागज छ भने ल्याउनुस् ।’

यस्तो छ कोभिड अस्पताल प्रमुख र खरिद शाखा प्रमुख सरुवा कनेक्सन

खरिद शाखा प्रमुखबाट चापागाईलाई सरुवा गराउनुअघि यही समुहको स्वार्थ पुरा नहुदा कोभिड अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले राजिनामा दिएकी थिइन् । उनलाई पनि प्रक्रिया मिचेर मिलेमतोमा खरिद गरिएको ती सामग्रीहरुलाई स्वीकृत गराउन यही समुहले दबाब दिएको थियो । प्रतिष्ठानमा आवश्यक पर्ने सामग्रीहरु जुन विभागमा चाहिएको हो, त्यहाँको विभागीय प्रमुखको स्वीकृति पछि मात्र खरिद गरिन्छ । तर, अस्पताल प्रमुख डा.पोखरेललाई पनि थाहै नदिई विभिन्न सामानहरु खरिद गरिएको थियो ।

अहिले खरिद शाखा प्रमुखको सरुवामा पनि सोही प्रकरण दोहोरिएको हो । ‘डा.पोखरेलले पनि उनीहरुको स्वार्थ पुरा हुने गरि काम नगरिदिए पछि चर्को दबाबमा परेर अस्पताल प्रमुखबाट राजिनामा दिनुभएको थियो,’स्रोतले भन्यो,‘अहिले खरिद शाखा प्रमुखको सरुवामा पनि कारण उहि नै हो ।’ त्यसो त कोभिड अस्पताललाई आवश्यक पर्ने औषधीमा पनि यसअघि व्यापक अतियमितता भएको थियो । व्यापारीसँगको मिलेमतोमा माग फारममा उल्लेख नभएको र म्याद गुज्रन लागेको औषधीहरु खरिद गरिएपछि र्यापिड रेस्पोन्स टिम (आरआरटि) बैठकमा नै विरोध भएको थियो । पछि, चौतर्फी दबाबमा यो घटनालाई गुपचुपरुपमा मिलाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>