Breaking News
चितवनका कुन ठाउँमा कति पुगे कोरोना संक्रमित ? (पूरा विवरणसहित)

चितवन, भदौ २६–
चितवनमा कोरोना संक्रमणको गति अझै रोकिएको छैन । केही दिन संक्रमितको संख्या कम हुँदै गएपनि आज (शुक्रबार)देखि पुनः संक्रमितको संख्या उकालो लागेको छ ।
शुक्रबार एकैदिन चितवनका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड ल्याबमा गरिएको परीक्षणमा ३१ जना र चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका नै रहेका छन् ।
हालसम्म चितवनमा कुल संक्रमितको संख्या एक हजार एक सय ४९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ८४० जना आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ । यस्तै २९५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
कुन ठाउँमा कति संक्रमितः
१. भरतपुर महानगरपालिकाः
सबैभन्दा धेरै संक्रमित भएको ठाउँ हो भरतपुर महानगरपालिका । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा हालसम्म संक्रमितको संख्या ७७७ जना पुगेको छ । हाल ६१५ जना आइसोलेसनमा छन् । जसमध्ये ३८० जना आइसोलेसन र २३५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै १५३ जना निको भएर घर फर्किएका छन् । भरतपुरमा हालसम्म कोरोनाबाट ९ जनाको मृत्यु भएको छ ।
२. रत्ननगर नगरपालिकाः
पूर्वीचितवनको रत्ननगर नगरपालिका संक्रमितको सूचीमा दोस्रो स्थानमा रहेको छ । यहाँ संक्रमितको संख्या १३१ पुगेको छ । हाल ११५ जना संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये ७७ जना आइसोलेसन र ३८ जना होम आइसोलेसनमा रहका छन् । हालसम्म यहाँका १४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै रत्ननगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
३. राप्ती नगरपालिकाः
पूर्वीचितवनकै राप्ती नगरपालिका संक्रमितको सूचीमा तेस्रो स्थानमा रहेको छ । यहाँ हालसम्म संक्रमितको संख्या ९८ रहेको छ । जसमध्ये ३२ जना संक्रमित मात्रै हाल आइसोलेसनमा छन् । ती मध्ये १६ जना होम आइसोलेसन र १६ जना आइसोलेसनमा रहेका छन् । यस नगरपालिकामा कोरोनाबाट हालसम्म एक जनाको मृत्यु भएको छ ।
४.खैरहनी नगरपालिकाः
पूर्वीचितवनको खैरहनी नगरपालिका संक्रमितको सूचीमा चौथो स्थानमा रहेको छ । यहाँ हालसम्म संक्रमितको संख्या ५८ रहेको छ । हाल खैरहनीमा ४८ जना संक्रमित आइसोलेसनमा छन् । जसमध्ये १८ जना आइसोलेसन र ३० जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म खैरहनीमा ८ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै यहाँ कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
५.माडी नगरपालिकाः
कोरोना रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट रहेको भन्दै चौतर्फी प्रशंसा बटुलेको माडी नगरपालिकामा हालसम्म संक्रमितको संख्या ५३ रहेको छ । हाल ५ जना संक्रमित मात्रै माडीमा आइसोलेसनमा छन् । जसमध्ये २ जना आइसोलेसन र ३ जना होम आइसोलेसनमा रहेका छन् । यहाँका ४८ जना संक्रमित निको भएर घर फर्किएका छन् । माडीमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यो माडीका लागि निकै सुखद खबर हो ।
६. कालिका नगरपालिकाः
नगरपालिका मध्यकै सबैभन्दा कम संक्रमित भएको नगरपालिका हो कालिका । यहाँ हालसम्म २८ जना मात्रै संक्रमित फेला परेका छन् । यस नगरपालिकामा हाल २३ जना संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये १८ जना होम आइसोलेसन र ५ जना आइसोलेसनमा रहेका छन् । यहाँका ५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
७. इच्छाकामना गाउँपालिकाः
जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनामा हालसम्म संक्रमतिको संख्या जम्मा ४ रहेको छ । जसमध्ये हाल दुई जना संक्रमित मात्रै आइसोलेसनमा छन् । ती मध्ये एक जना होम आइसोलेसन र एक जना आइसोलेसनमा छन् । यहाँका दुई जना संक्रमित निको भएर घर फर्किएका छन् । यस गाउँपालिकामा पनि कोरोनाबाट कसैले पनि ज्यान गुमाउन परेको छैन ।
























