खैरहनी
जितिया पर्वको अवसरमा चितवनमा छात्रवृत्ति कोष स्थापना

कारी महतो
चितवन, भदौं २५-
जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले ‘थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष’ नामक एक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
बिहीबार कोष स्थापना गरेर सभाले देशविदेशमा रहेका व्यक्तिहरुलाई कोषका लागि आर्थिक सहयोग रकम जम्मा गर्न आह्वान गरेको हो ।
जितिया पर्वको अवसरमा थाकस चितवनले अक्षयकोषको निर्देशिका पारित गरी कोषमा रकम सहयोग गर्न आह्वान गरेपछि मनोज महतो र उषा महतो दम्पतीले एक लाख एक रुपैयाँ नगद सहयोग जम्मा गरेको थाकस चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । अक्षयकोषका लागि धेरै व्यक्तिहरुले आर्थिक सहयोग गर्ने आश्वासन दिएको जिल्ला सदस्य एवम् थाकसको शिक्षा तथा प्रशिक्षण विभागका संयोजक जीतबहादुर महतोले बताउनुभयो । आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरुले थारु कल्याणकारिणी सभा चितवनको लक्ष्मी बैंकमा रहेको खाता नं. ००८११०३७७६३ मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।
अक्षयकोषमा मनोज र उषाको एक लाख सहयोग
थारु कल्याणकारी सभा चितवनले अक्षयकोष स्थापना गरे लगत्तै कोषमा भरतपुर महानगरपालिका–२७ पर्साढापका मनोज महतो र उषा महतोले एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
थारु समुदायमा शैक्षिक अवस्था र विद्यार्थीहरुको संघर्ष देख्दै आइरहेको र आफैंले पनि विद्यार्थी जीवनकालमा भोग्दै आएकोले अक्षयकोष स्थापनाका लागि सहयोग गरेकोे मनोजले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नु भयो, ‘अहिलेको युगमा शिक्षा नै सर्वोपरि हो । छात्रवृत्तिले विद्यार्थीहरुलाई केहि राहत र प्रोत्साहन दिन्छ ।’
अहिले अमेरिकाको टेक्सासमा बस्ने मनोज महतो एक प्राविधिक सञ्चारकर्मी हुनुहुन्छ । उहाँले चितवनको सिनर्जी एफएममा २०६५ देखि २०६८ सम्म सूचनाप्रविधिसम्बन्धि ‘इन्फोटिक्स’ कार्यक्रमबाट प्रवेश गरी प्राविधिकको रुपमा समेत काम गर्नुभयो । त्यसका साथै उहाँले ‘शुभ बिहानी’, ‘यङना हमार’ कार्यक्रम सञ्चालन गनु भयो । साथै थारु आदिवासी गैरसरकारी संस्था महासंघ सौजन्यमा ‘हमार अधिकार’ कार्यक्रमको उत्पादन गरेर नेपालको ६ वटा रेडियो स्टेशनबाट प्रसारण गर्नुहुन्थ्यो ।
सिनर्जी एफएममा प्रवेश गर्नु अगाडि उहाँले २०६४ मा थारु भाषाको ‘हमार चिनारी’ पत्रिका प्रकाशन गर्नुभएको थियो । सिनर्जी एफएममा काम गर्दागर्दै उहाँले २०६७ मा ‘हमार अधिकार’ प्रकाशन गर्नुभयो । २०७० सालमा ‘जीतवाहन’ पुस्तक प्रकाशन गर्नुका साथै चितवनका विभिन्न पत्रपत्रिकामा ‘साइबर संसार’ स्तम्भ नियमित रुपमा लेख्ने गर्नुहुन्थ्यो । उहाँले अनलाइन विधामा पनि काम गर्नु भएको छ । सफ्टवेयर आफैंले डिजाइन र उत्पादन गरी २०६६ सालमा थारुनेपाल डट कम र २०६९ मा थारु अनलाइन डट कम दर्ता गरी सुरु गर्नु भएको थियो । अहिले अमेरिकामै रहेर पनि सङ्हाती पत्रिकाको अनलाइन सम्पादकमा रही सहयोग गर्दै आउनु भएको छ । अहिले मनोज अमेरिकास्थित एक टेलिकम्युनिकेशन सफ्टवेयर कम्पनीमा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ । उषाले पनि आफ्नो क्षमता अनुसारको पहिचान बनाउँदै हुनुहुन्छ ।
























