Breaking News

बालुवा उत्खननमा स्थानीय तह र ठेकेदारको रजाइँ कहिलेसम्म ?

Banner

सुदीप पौडेल

नदी, समुद्रमा देखिने बालुवा ठूलाठूला चट्टानलाई पानीको बहावले हजारौं वर्ष कटान गरेर बनेको हुन्छ । झट्ट हेर्दा बालुवा असिमित देखिन्छ, जति निकाल्यो त्यति आउने जस्तो देखिन्छ तर के यो असिमित स्रोत हो त ?

गिट्टी र बालुवा अहिले विश्वको सबै भन्दा धेरै उत्खनन् हुने पदार्थ हुन् । यसले विश्वको कुल पेट्रोलियम उत्पादनलाई पनि उछिनेको छ । बालुवा मुख्यतः पक्की सडक, घर, सिसा र विद्युतीय सामग्री बनाउन प्रयोग गरिन्छ । यसको अलवा बालुवाको उत्खनन् मनोरञ्जनात्मक क्षेत्र निर्माणमा पनि उतिकै देखिन्छ । एक अध्ययनले नेपाललगायतका हिन्दकुश क्षेत्रमा भइरहेको बाढी पहिरोले पनि तल्लो तटीय क्षेत्रमा बालुवाको झन् समस्या हुने देखाएको छ ।

बालुवा पहिले हाम्रो गाउँठाउँमा सजिलै पाइने र स्थानीयस्तरमै प्रयोग हुने पदार्थ हो तर बढ्दो सहरीकरणले निम्त्याएको बढ्दो मागलाई परिपूर्ति गर्न नदी दोहन बढेको छ । साथसाथै सन् २०१५ बाट देश संघीयतमा गएपछि नदीजन्य पदार्थको दोहन झन् बढेको प्रस्ट रुपमा देख्न सकिन्छ । नदीमा दोहन रोक्न प्रहरी समेत लागि परेता पनि उचित मापदण्डको कमी, ठेकदारको गुण्डा प्रवृति र नगरपालिका गाउँपालिकाको आम्दानीको मुख्य स्रोत बनेको नदीजन्य क्षेत्र भएकाले दोहन गर्नेहरुको रजाइँ कायमै छ ।

द कन्वेर्सशन पत्रिकाको एक अध्ययनका अनुसार सन् २०१०मा ११ विलियन टन बालुवा उत्खनन् गरिएको थियो भने त्यसको उत्खनन दर बर्सेनि २४५ ले बढिरहेको छ । हाल बालुवाको उत्खनन बर्सेनि ५० बिलियन टन उत्खनन् हुने प्रक्षेपण गर्न सकिन्छ । भि . सुब्रमन्यको पुस्तकमा गंगा नदीको सेडिमेन्ट लोड ४०३ देखि ६६० विलियन टन प्रति वर्ष देखाएता पनि उत्खनन् परिमाण गुपचुप छ । नेपाल र भारत जस्तो दक्षिण एसियाली देशले उत्खनन्को तथ्यांक लुकाउने भएकोले सटिक परिमाणको लेखाजोखा छैन । अन्य वैज्ञानिकहरुले पनि खोलामा कति बालुवा छ र कस्तो प्रकारको छ भनेर मात्र अनुसन्धान गरिरहेका छन् ।

बजारमा आकाशिँदो माग र व्यापक दोहन एक आपसमा मिल्दा अब निकट भविष्यमा बालुवाको उपलब्धतामा ह्रास आउने पक्का देखिन्छ । विशेष गरी तटीय क्षेत्र र नेपालको तराई क्षेत्रमा बालुवाको परिमाण घट्दै गएको र बजार मूल्य बढ्दै गएको छ । भेनेजुएलामा बालुवाको संकट नै परिसकेको अवस्था छ । इन्डोनेसियामा सन् २००५ देखि यता करिब दुइ दर्जन टापुहरु बालुवा उत्खनन्ले समाप्त भइसकेका छन् । हाल इन्डोनेसिया, मलेसिया र भियतनाममा बालुवा उत्खनन्मा प्रतिबन्ध लगाइएको छ । वातावरण संरक्षण गर्न खटाइएका कर्मचारीलाई भन्दा दोहनको अधिकार दिने कर्मचारीको श्रेणी उच्च भएको नेपाल जस्तो देशमा के संरक्षण सम्भव छ ?

पुरानो बालुवाको थुप्रो दोहन गर्दा के हुन्छ ?

हजारौ वर्षदेखि अविरल बगिरहेका नदीले नदीको समथर क्षेत्रमा प्रचुर मात्रमा बालुवा थुपारेको हुन्छ । बालुवाका पुराना थुप्रो जहाँ साना साना झार पलाएका हुन्छन् , त्यस्ता क्षेत्रको आफ्नै जैविक तथा अन्य मनोरञ्जनात्मक महत्व छन् । त्यस्ता क्षेत्रले नदी र जमिनलाई जोड्ने इकोकोरिडोर बनाउने गर्दछन् र नदीलाई धमिलो हुनबाट पनि जोगाउने गर्दछन् ।

नदीको छेउछाउ भएको बालुवा उत्खनन् गरेर सकिन लागेको छ र उचित संरक्षण नभएकाले हजारौ वर्ष पुराना बालुवा का थुप्रा पनि कटान हुने थालेका छन् तर त्यो कहिले सम्म ? सकिए पछि के गर्ने भनेर कुनै स्थानीय तह, सरकार र महासन्धिले उपाए दिन सकेको छैनन् ।
भूगर्वको एउटा सिद्धान्त छ, पृथ्वीको कुनै ठाउँबाट दोहन भयो भने त्यस खाल्डो पुर्न पृथ्वी आफै लागि पर्छ । यस सिद्धान्तअनुसार बालुवा उत्खनन् गरेको ठाउँमा ग्राबेल आएर बस्यो भने बालुवा कताबाट ल्याउने ? त्यसैमाथि अत्यधिक दोहनले हाल निम्त्याएको पहिरो र पूर्वाधार क्षतिको कुरा गर्न थाल्यो भने एउटा छुट्टै पुस्तक प्रकाशन हुन्छ ।

दोहनको समस्या कसरी समाधान हुन्छ ?

नदी दोहनको समस्या समाधान नहुनुमा एउटा मुख्य कारण छ । नदीजन्य पदार्थलाई मानिसले साझा र सजिलै उपभोग गर्न मिल्ने सम्पतिको रुपमा लिएका छन् जसको करणले यस्ता पदार्थको वास्तविक मूल्य निर्धारण हुन सकेको छैन ।

विश्वव्यापी सहरीकरणको बढ्दो क्रमले बालुवाको माग झन् बढाउने देखिन्छ । बालुवा एक प्राकृतिक स्रोत हो तर यसलाई प्राकृतिक स्रोतको बाडफाडसम्बन्धी कुनै पनि महासन्धी जस्तै सन् २०३० को लागि दिगो विकासको एजेण्डा र जैविक विविधता सम्बन्धी महासन्धिले सम्बोधन गर्न नसकेको अवस्था छ । नदी दोहन सम्न्बन्धमा मिडिया कभरेज र वैज्ञानिक खोज अनुसन्धान बढिरहेको छ र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले पनि यस सन्दर्भमा काम गरिरहेको छ । तथापि नदी दोहनको समस्या विश्वव्यापीरुपमा अझै उठ्न सकेको छैन । चारै तिर माफियाले घेरेको यस क्षेत्रमा हिंसा बढ्दो क्रममा छ । हालसालै जनकपुरका एक विद्यार्थी नदी दोहनको विरोध गर्ने क्रममा मारिएको खबर सबैले सुन्न पायौं । यस्ता किसिमका आपराधिक गतिविधि बालुवाको उपलब्धता कम हुनासाथ झन् बढ्ने निश्चित देखिन्छ । नेपालमा मात्र होइन यो विश्वव्यापी समस्या हो । कतिपय समाचार पत्रिकाहरुले अब संसारभर बालुवाको लागि युद्ध हुने बताएका छन् ।

संक्षेपमा बालुवा (नदीजन्य पदार्थ) यसलाई प्राकृतिक स्रोतको रुपमा अनुशरण गर्न ढिलाइ गर्नु हुदैन । जसरी देशले संरक्षण क्षेत्र तोकेर वन्यजन्तुको संरक्षण गरिरहेको छ, जसरी सामुदायिक वनको अवलम्बन गरेर वनक्षेत्रको वैज्ञानिक व्यवस्थापन गरेको छ । त्यसैगरी नदीजन्य पदार्थलाई पनि निकै सीमित स्रोत मानेर आवश्यक नियम, कानुन र मापदण्डसहित अन्तर्राष्ट्रिय महासन्धिको लागि अपिल गर्नुको कुनै विकल्प देखिदैन । स्थानीय तहले अन्य नदीजन्य पदार्थको तुलानामा बालुवा उत्खनन् कार्यलाई कडाइका साथ नियमन गर्न अत्यावश्यक देखिन्छ । साथै वैज्ञानिकहरुले पनि यस विषयमा अझै अनुसन्धान गर्न आवश्यक छ ।

तस्विर : सुदीप पौडेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>