Breaking News

चितवनको माडीमा कोरोना संक्रमण नियन्त्रणमा, जम्मा दुई संक्रमित निको हुन बाँकी

Banner

चितवन, भदौं २४-

चितवनको भरतपुर महानगर र अन्य नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गए पनि माडी नगरपालिकामा भने संक्रमण नियन्त्रणमा आएको छ ।

चितवनका सात वटै स्थानीय तहको कोरोना संक्रमण दरलाई हेर्दा सुरुमा सबैभन्दा बढी संक्रमित माडीका नागरिक भएका थिए तर मंगलबारसम्मको नतिजा हेर्दा पछिल्लो समयमा माडीमा संक्रमण दर शून्यमा झर्दै गएको छ । माडीमा जम्मा ५१ जना संक्रमित भएकोमा अहिले सबै निको भएर दुई जना मात्र कोरोना संक्रमण मुक्त हुन बाँकी रहेका छन् । बुधबार मात्रै पनि माडी नगरपालिका–६ को पाँच महिनाको बच्चासहित अन्य केही कोरोना संक्रमण मुक्त भएर घर फर्किए ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडी नगरपालिकामा कोरोना संक्रमण दर पूर्णतया नियन्त्रणमा आएको बताउनुभयो । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘ भरतपुरबाट माडी आउनेहरुमा निगरानी राखेर समुदायमा संक्रमितलाई घुलमिल हुन दिएनौ । होम क्वारेन्टिनहरुलाई व्यवस्थित ग¥यौं । जसको कारणले ५१ जना संक्रमितको संख्या २ जनामा झार्न सफल भयौं ।’ उहाँले ठोरीको नाका पूर्णतया सिल गरेर भरतपुरतिर जाने र आउने मानिसलाई निगरानी राखिएकोले अब संक्रमण शून्यमा झर्ने दाबी गर्नुभयो ।

अहिले माडी नगरपालिकाको बसन्तपुर र गर्दीलगायतका बजारी क्षेत्र पूर्णरुपमा सञ्चालनमा आएका छन् । सार्वजनिक यातायातका साधन नचलेको भए पनि आन्तरिकरुपमा नगरपालिकाभित्र सवारी साधनमा कुनै रोकावट छैन । विस्तारै पुरानै लयमा माडी फर्कदै गएको देखिन्छ । पसल, बैँक तथा संघसंस्था बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म सञ्चालनमा आएका छन् ।  माडी नगरपालिकाको नगरप्रमुख ढकालले विभिन्न उद्योगमा काम गर्न आउने कामदारहरुको पनि अनिवार्य पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँले सुरुमा भारतबाट आउनेमा संक्रमण देखिए पनि अहिले नयाँ केस नदेखिएको बताउनुभयो ।

माडी नगरपालिकामा बाहिरबाट आएका भन्दा बाहेक जम्मा ९ जना स्थानीयलाई मात्र संक्रमण देखिएको थियो । नगरपालिकाको राम्रो व्यवस्थापन र स्थानीय नागरिकको साथले नै कोरोना संक्रमणमा नगरपालिकाले सफलता हासिल गरेको स्थानीय सामाजिक अगुवाहरु बताउँछन् ।

माडी नगरपालिकाका सामाजिक अभियन्ता श्री दवाडीले सबै संक्रमितलाई विशेष निगरानीका साथ क्वारेन्टिनमा राख्ने कार्य नै निकै प्रभावकारी ठहरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ स्वाब संकलनमा भरतपुरमा जस्तो भीडभाड भएन । सबैको घरघरमा गएर स्वाब संकलन गर्ने व्यवस्था माडी नगरपालिकाले ग¥यो । समुदायमा संक्रमण फैलिन नदिन नगरपालिका र स्थानीयले गरेको कार्य नै नियन्त्रणमा उदाहरणीय ठहरियो ।’ दवाडीले अन्य समयमा अभिशाप साबित भएको चितवन राष्ट्रिय निकुञ्ज कोरोना नियन्त्रणमा बरदान साबित भएको दाबी गर्नुभयो । निकुञ्जको कडा चेकजाँच र नाकामा विशेष निगरानीले संक्रमितहरु माडी भित्रिन नपाएको उहाँले नारायणी अनलाइनलाई बताउनुभयो । माडीका स्थानीय जनताले पनि क्वारेन्टिन र आइसोलेसनमा बस्नेलाई घरघरबाट खाद्यान्न सहयोग गर्नुको साथै वडा, टोलटोलमा निगरानी राखेर नगरपालिकाको नियन्त्रण अभियानमा साथ दिएको उहाँले बताउनुभयो । चितवनको अन्य स्थानीय तहमा संक्रमण दर फैलिँदै गएको समयमा माडीले गरेको संक्रमण नियन्त्रण प्रयास सबैलाई उदाहरणीय बन्न सक्ने स्थानीयले बताएका छन् । नियन्त्रणमा सबै जनताको साथ भएमा छोटो समयमा अभियान सफल पार्न सकिन्छ भन्ने शिक्षा माडीबाट लिन सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>