Breaking News
चितवनमा गुर्जाेको प्रयोग बढ्यो, किलोको ५०० रुपैयाँमा कारोबार

चितवन, भदौं २३-
चितवनमा कोरोना संक्रमण बढ्नुभन्दा पहिले फाट्टफुट्टरुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् ।
कोरोनाको औषधि गुर्जाे नभए पनि शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि भन्दै यसको प्रयोग गर्नेहरु बढेका हुन् । भरतपुर महानगरपालिका–१० चितवन मावि पछाडि रहेको ओम डेरीलगायत कतिपय फलफूल पसलमा अहिले बिक्रीको लागि गुर्जाे पनि बेच्न राखिएको छ । गुर्जाेको पाँचवटा लहरा राखेर ३० रुपैयाँमा बेच्ने गरिएको डेरी सञ्चालक अनिल पण्डितले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले यसबारे खासै चासो नराख्ने मानिसहरु पनि अहिले गुर्जाे खोज्न आउछन् । दिनमा १५ देखि २० मुठासम्म बिक्री हुने गरेको उहाँले बताउनु भयो । डेरीले रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको बगैँचाबाट ल्याएर बेच्ने गरेको छ ।
भरतपुर महानगरपालिका–११ बसेनीमा नै बसोबास गर्ने तनहुँका पत्रकार प्रकाशचन्द्र भट्टराईको परिवारमा पनि सबैले गुर्जाे सेवन गर्न थाल्नुभएको छ । उहाँले पहिले गुर्जाेको बारेमा खासै चासो नराखे पनि अहिले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ भन्ने समाचार मार्फत् सुनेपछि प्रयोग गर्न थालेको बताउनुभयो । आफू मात्र नभएर उहाँले अन्य साथीभाई र आफन्तहरुलाई पनि गुज्रो प्रयोगको लागि अभिप्रेरित गर्दै आउनुभएको छ ।
तर, आयुर्वेदिक औषधिको रुपमा भने गुर्जाेको व्यापार धेरै वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आएको थियो । यसलाई विभिन्न औषधिमा मिसाएर वा अलग्गै धुलो वा क्याप्सुलको रुपमा यसको बिक्री वितरण हुँदै आइरहेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि रोकथामका लागि शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने भन्ने विषयले चर्चा पाउन थालेपछि यसको प्रयोग बढेको हो । अनलाइन मार्फत् पनि अहिले गुर्जाेको व्यापार हुँदै आइरहेको छ । हिमालय अर्गानिक स्टोरले अर्डर गर्ने बित्तिकै देशका विभिन्न भागमा गुर्जाे बिक्री गर्दै आएको छ । पहिले खासै बिक्री नहुने गुर्जाे बेच्नलाई अहिले भ्याइनभ्याइ भएको स्टोरले जनाएको छ । एक केजी गुर्जाेलाई अनलाइनमार्फत् अर्डर गर्दा प्रति केजी ५०० रुपैयाँसम्म पर्छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत रेडियो तथा टेलिभिजनका विज्ञापनहरुमा पनि जडीबुटीको रुपमा गुर्जाेको प्रयोगलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिएपछि यसको प्रयोग बढ्दै गएको सर्वसाधारण बताउँछन् । कसैले दिनमा एकपटक त कसैले सांँझबिहान दुई पटक खाने गरेका छन् । ‘गुर्जाे, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझबिहान खाइरहेको छु’, भरतपुर महानगरपालिका–१० हाकिमचोकका ४५ वर्षीय श्यामबहादुर गुरुङले भन्नुभयो, ‘गुर्जाेको झोल हाम्रो परिवारले कोरोना संक्रमण देखिएदेखिनै खाइरहेको छ । हामीलाई फाइदा भएको महसुस भएको छ ।’ उहाँले आफ्नो प्रयोगका लागि बारीमा गुर्जाे रोपिएको बताउनुभयो । ‘लकडाउनपछि गुर्जाे माग्न धेरै आउंँछन्, औषधि हो, संकटका बेला दिनुपर्छ भनेर अलिअलि सबैलाई दिने गरेका छौँ’, गुरुङले भन्नुभयो, ‘गुर्जाे खानेको संख्या ह्वात्तै बढेको छ ।’ गुर्जाेको फाइदाबारे आधुनिक मेडिसिन चिकित्साका डाक्टरहरु बेखबर नै भए पनि आर्युेवेदले भने यसलाई बहुगुणकारी जडीबुटीको रुपमा व्याख्या गरेको छ ।
के भनिएको छ आर्युवेदमा ?
मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जाेको नियमित प्रयोगले लाभ मिल्ने आर्युवेदिक चिकित्सकहरु बताउँछन् । नारायणगढ पुल्चोकमा रहेको आमा आयुर्वेदका चिकित्सक डा सन्तोष पौडेलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जाे उपयोगी जडीबुटी भएको बताउनुभयो । पौडेलले भारतबाट जडीबुटी विषयमा एमडी अर्थात् द्रव्य गुण विशेषज्ञता हासिल गरेर आउनु भएकोले पनि यसबारे उहाँ बढी नै जानकार हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘ नेपालमा जहाँ पनि पाइने गुर्जाे कोरोनाको औषधि त होइन तर रोकथामको लागि भने सहयोगी बन्न सक्छ । आर्युवेदको प्रसिद्ध पुस्तक सरस संहितामा पनि गुर्जाेको बारेमा व्याख्या गरिएको छ ।’ उहाँले शरीरमा डब्लुबीसीको संख्या बढाउनमा पनि गुर्जाे उपयोगी हुने बताउनुभयो ।
डा पौडेलले गुर्जाेलाई रस बनाएर, धुलो बनाएर वा काडा पकाएर सेवन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ धेरैमा १० एमएलसम्म नियमित प्रयोग गर्न सकिन्छ ।’ तर, बजारमा बिक्री बढेसँगै नक्कली र सक्कली गुर्जाेको भने पहिचान गर्न सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । गुर्जाेको लहरा काट्यो भने भित्र चक्राकार देखिने उहाँले बताउनुभयो । जे होस् आर्युवेदमा धेरै वर्षदेखि प्रयोग गरिँदै आएको गुर्जाेबारे मानिसहरुले धेरै भन्दा धेरै जानकारी लिएर प्रयोग गर्न उत्साहित हुनु सकारात्मक विषय नै हो ।
























