चितवन विशेष

चितवनका चार क्याम्पस हल्ट प्राइज प्रतियोगितामा समावेश हुने

Banner

चितवन, भदौं २२-

विद्यार्थीहरुको नोबेल पुरस्कारका रुपमा प्रसिद्ध ‘हल्ट प्राइज’ चितवनमा सञ्चालित पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरु बीच हुने भएको छ ।

पोखरा विश्वविद्यालय अन्तर्गत बोस्टन इन्टरनेशनल कलेजमा एमबीए अध्ययनरत विद्यार्थी दिपेश गौतम ‘हल्ट प्राइज’ पोखरा विश्वविद्यालय चितवनको क्याम्पस निर्देशक छनोट भएसँगै चितवनका चार क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको हो । सोमबार हल्ट प्राइज पोखरा विश्वविद्यालय चितवनले एक विज्ञप्ति प्रेषित गर्दै सो पुरस्कारको बारेमा जानकारी गराएको हो ।

विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रममा विद्यार्थीहरुलाई कुनै एउटा सामाजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने र उत्कृष्ट विद्यार्थीको समूहले १० लाख अमेरिकी डलर जित्न सक्ने प्रक्रिया रहेको छ।

उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्तरुपमा आयोजना गर्दै आएको छ। हल्ट प्राइज फाउन्डेसनले युवाहरुका दिमागलाई परिवर्तन गर्न र विश्वव्यापी १० लाख बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न र अगाडि बढाउन मद्दत गरेको छ।

खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले विभिन्न शीर्षकमा कार्यक्रम गर्ने गर्छन् । सञ्चालित कलेजमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् ।

उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजहरु बोस्टन, अक्स्फोर्ड, युटेक र भ्याली स्टेटलगायत कलेजका स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु भइरहेको क्याम्पस निर्देशक गौतमले बताउनु भयो । डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी सुरु भएको छ । यसअघि नै चितवनकै पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसीडेन्सी कलेजले पनि हल्ट प्राइज प्रतियोगिता सञ्चालनको लागि समिति गठन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>