विचार/ब्लग

भारतीय नेतासँगको अन्तर्वार्ताले उब्जाएको प्रश्न

Banner

बाबुराम दवाडी

नेपाल र भारत सिमाना जोडिएका छिमेकी हुन् । नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, टनकपुरलगायत अन्य ७१ ठाउँमा सीमा विवाद छ । नेपालले धेरै अगाडिदेखि सीमा विवाद टुङ्ग्याउन पहल गरे पनि भारत इच्छुक देखिएको छैन । परम्परादेखि नेपालको रहेको नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर भारत नक्सा प्रकाशित गरेपछि यो विषय चर्चामा रहँदै आएको छ ।

हालै एक एफएममा नेपालका पत्रकार ऋषि धमलाले भारतीय सत्तारुढ पार्टीका नेता विजय जोलीसँग लिएको अन्तर्वार्ता सुनियो । अन्तर्वार्ता सुनेपछि मनमा केही खसखस लागेर कलम उठाउने प्रयास गरेको छु । अन्तर्वार्तामा जोलीको भनाइका मुख्य बुँदा यस्ता थिए ः

१. भारतले नेपाललाई धेरै सहयोग गर्‍यो रे !
२. भारतले सहयोग गर्दागर्दै नेपाल किन बोलेको रे !
३. नेपाल छोटा भाइ रे !
४. भाइले दाइको पेलाइ सहिरहनु पर्ने रे !

अन्तर्वार्ताका क्रममा धमलाले जोलीलाई पटकपटक सीमाको कुरा उठाउँदा पनि उनले सीमाको कुरा सहयोग तिर मोडेर केन्द्रित गर्न खोजेको देखियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको हो भनेर उनले भने पनि उनले कुनै प्रमाण र तर्क पेस गर्न सकेनन् । न त उनको कुरामा कुनै दम थियो । अब विचार गरौं के भारतको सहयोग निस्वार्थ छ र ? के सहयोग गरेकै भरमा सीमामा उसले गरेको ज्यादतीमा नेपालले केही बोल्न नहुने ? उसको ज्यादती नेपालले सधै सही रहनुपर्ने ?

मेरो विचारमा अब यस्ता बेतुकका कुरा गर्ने र बिना आधार बकबक गर्ने जोली जस्ता भारतीय नेताहरुसँग नेपालका मिडियाहरुले अन्तर्वार्ता नलिउन् । पत्रकार ज्यूले जोलीसँग हिन्दीमा अन्तर्वार्ता लिए । आफ्नो मातृभूमिको प्रेम र माया हुने नेपालीले कि नेपालको राष्ट्र भाषामा अन्तर्वार्ता लिँदा राम्रो हुन्छ कि त अंग्रेजीमा । नेपाली भारतको राष्ट्रिय भाषा मध्ये एक भाषा हुँदाहुँदै पनि कुनै भारतीय पत्रकारले नेपाली नेतासँग नेपालीमा अन्तर्वार्ता लिएका छन र ? तसर्थ नेपालका नेपाली मिडियाले अन्तर्वार्ता लिदा पनि कि नेपालीमा प्रश्न सोध्नुपर्छ कि त अंग्रेजीमा ।

धेरै पछि भए पनि अहिले पुरानो नक्सामा छुटेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेर नेपालको पूर्ण नक्सा प्रकाशन गर्न नेपाल सरकार सफल भएको छ । नेपाल सरकारको यो कदममा प्रतिपक्षी दलले समेत सहयोग र समर्थन गरेको छ । ‘फलाम तातेको बेलामा हिर्काउनु पर्छ’ भन्ने नेपाली उखान नै छ । अहिले फलाम तातेको छ । यो विषयमा सत्तापक्ष र प्रतिपक्षको आवाज एक भएको छ । सम्पूर्ण नेपाली जनताको साथ, सहयोग र समर्थन छ । नेपालसँग यो भूमि हाम्रो भएको यथेष्ट प्रमाण छ । यो बेला अब ढिलो गर्न हुदैन । अहिले विषय उठान भएको बेलामा लिम्पियाधुरा, लिपुलेक र कालापानी मात्र होइन सुस्ता, टनकपुरलगायत अन्य विवादित सबै स्थानको पनि कुरा एकैपटकमा टुङ्याउनु पर्छ ।

नेपाल अघि बढ्यो बढ्यो । अब पछाडि हट्ने छुट हामी नेपालीलाई छैन । सीमा विवादमा वार्ता गर्न भारतले आलटाल गर्दैछ । अब वार्ता गरौं भनेर मात्र हुदैन । दुई वा तीन महिनाको समय दिएर वार्ताको प्रस्ताव गर्नुपर्छ । वार्ता प्रस्तावमा तोकिएको अवधिमा भारतले वार्ता गर्न नचाहेमा अथवा सार्थक वार्ता नगरेमा विवाद संयुक्त राष्ट्र संघमा लाने कुरा स्पष्ट उल्लेख गर्नुपर्छ । अहिले हामी दह्रोगरी अगाडि बढेऔं भने सफलता हाम्रो पक्षमा छ । सबै नेपाली एक होऔं । सरकारको कदममा साथ र सहयोग गरौं ।

(लेखक दवाडी भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>