चितवन विशेष
सहयोगी मनका धनी अविरल

चितवन, भदौं १४–
भरतपुर महानगरपालिकाको कोरोना नियन्त्रण कन्ट्याक्ट ट्रेसिङ टिममा खटिएका युवा अविरल पोखरेलको दैनिकी अहिले कोरोना संक्रमितको पहिचान र व्यवस्थापनमै बित्छ । दिन रात नभनि उनी महानगरपालिकाले खटाएको जिम्मेवारी पुरा गर्नमा व्यस्त छन् । अविरल यत्तिकैमा मात्रै रोकिदैनन् ।
त्यही जिम्मेवारी पुरा गर्ने सिलसिलामा विभिन्न ठाउँमा भेटिने असाहय वृद्धवृद्धाको उद्धारमा समेत खटिने गरेका छन् । आफैले एम्बुलेन्समा राखेर जिल्ला भित्रका असाहय वृद्धवृद्धालाई उद्धार गरी आवश्यकताको आधारमा कोरोना परीक्षण गराउनेदेखि व्यवस्थापनमा सहयोग गर्दै आइरहेका छन् । ‘विभिन्न ठाउँमा जाँदा हिड्नै नसक्ने असहाय वृद्धवृद्धा देख्दा मन दुख्छ, उनीहरुलाई उद्धार गरी उचित ठाउँमा व्यवस्थापन गर्दै आइरहेको छु’–अविरलले नारायणी अनलाइनसंग भने ।
उनले यही क्रममा चार जना असहाय व्यक्तिको उद्धार गरेका छन् । उनीहरुको कोरोना परीक्षण गर्न सहयोग गर्दै व्यवस्थापनमा सहयोग गरेका छन् । उनले केहीलाई मानवसेवा आश्रममा समेत व्यस्थापन गरे । तीन जनाको कोरोना परीक्षण गरिएकोमा तिनै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत साउन ३१ गते भरतपुर महानगरपालिका–२९ गाईघाटबाट ६९ वर्षीया अशक्त महिलालाई अविरलले उद्धार गरेका थिए । यो एउटा प्रतिनिधि पात्र मात्र हो । उनीजस्तै धेरैको रातारात अविरलले उद्धार गरेका छन् । कन्ट्याक्ट ट्रेसिङको टिममा खटिएकाले उनको छुट्टै होटेलमा बसाई छ । विभिन्न ठाउँबाट सहयोगका लागि फोन आउँदा राता रात उठेर सहयोग गर्न पुग्छन् । उनले यसबीचमा समयमै एम्बुलेन्स नपाएका गर्भवती महिलालाई पनि हस्पिटल पुर्याउने काम गरेका छन् । उनले भने–‘कसैले मद्धत चाहियो भन्ने वित्तिकै सकेको समयमै पुग्ने गरेको छु, धेरैलाई समयमा उपचार पाउने अवस्थामा पुर्याएको छु ।’

अहिले कोरोनाका कारण जिल्लामा निषेधाज्ञाका लागू छ । यस्तो अवस्थामा धेरैले समयमै सवारी साधन पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा अविरल एउटा विकल्प बनेर निस्केका छन् । कसैलाई आपत्तविपत्त परे आफूलाई फोन गर्न उनले आग्रह गरेका छन् ।
विहान ५ बजेदेखि नै अविरल काममा निस्कन्छन् । पीपीइ लगाएर कन्ट्याक्ट ट्रेसिङमा स्वाब संकलन गर्न पुग्ने अविरल जनचेतना समेत जगाइ रहेका छन् । उनीहरु आफू पुग्ने हरेक ठाउँमा जो कोहीलाई मास्क बिना उपस्थित भएको देखेमा आफूसंग भएको नयाँ मास्क दिएर जनचेतना जगाउँछन् ।
























