Breaking News
चितवनमा दुई दिनमा कोरोनाबाट पाँच जनाको मृत्यु

चितवन, भदौं १३–
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चितवनमा पछिल्लो दुई दिनमा पाँच जनाको मृत्यु भएको छ ।
शुक्रबार तीन जना र शनिबार दुई जना गरी पाँच जनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत बाराको निजगढ–७ की ४७ वर्षीया महिलाको शनिबार विहान ७ः५३ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मिर्गौलाका बिरामी ती महिलाको तीन पटकसम्म डायलाइसिस गरिएको थियो । उनी साउन २६ गते डायलाइसिसको लागि अस्पताल पुगेकी थिइन् । सोही बेला श्वासप्रश्वासमा समस्यामा थप जटिलता देखिएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरको सहायतामा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार गरेका थिए । उनको सोही क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
यस्तै शनिबार साँझ थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ ५ः५० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले नारायणी अनलाइनलाई जानकारी दिए ।
निमोनिया भएर भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको शनिबार दिउँसो कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।
यस्तै शुक्रबार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र श्रीपुष्पाञ्जली अस्पतालमा उपचाररत तीन जनाको मृत्यु भएको थियो । भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको विहान १० बजेको समयमा मृत्यु भएको थियो । ती पुरुष लामोसमय देखि फोक्सोको दमको बिरामी रहेका थिए । भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भदौं ५ गते विहान १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषको गम्भिर अवस्थामा आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो । उनलाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।
यस्तै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको शुक्रबार विहान ६ः५० बजे मृत्यु भएको थियो । निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाका ३८ वर्षीय पुरुषको शुक्रबार दिउँसो २ः३० बजे मृत्यु भएको थियो । ती पुरुष भदौं ६ गते उच्च ज्वरो र रुघाखोकी आएपछि भरतपुर अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको कोरोनो परीक्षण गर्दा भदौं १० गते कोरोना पोजिटिभ पुष्टि भएको थियो ।
चितवनमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमध्ये ४ जना चितवनका हुन् भने ३ जना मकवानपुरका, कैलाली, बारा, गोरखा र पूर्वी नवलपरासीका एक/एक जना रहेका छन् ।
























