Breaking News
चितवनमा नक्कली प्रेसको विगविगी ! अनुगमन गर्दै पत्रकार महासंघ

चितवन,भदौं ११-
कोरोनो संक्रमणको महामारी नियन्त्रण गर्न सरकारले निषेधाज्ञा लगाएको छ । अत्यावश्यक बाहेकका सवारीसाधन सडकमा गुडेका छैनन् । समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुका सवारीसाधनलाई पनि सडकमा गुड्न छुट छ । तर निषेधाज्ञाको समयमा वास्तविक पत्रकारहरुको नाममा नक्कली पत्रकारहरुको विगविगी बढ्दै गएको देखिएको छ । सडकमा प्रेस लेखिएका सवारीसाधनहरु बाक्लिदै गएका छन् । प्रहरीको चेकिङमा पर्दा आफु पत्रकार हो भन्दै कार्ड देखाएर हिड्नेहरुको संख्यापनि बढ्दो छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले कोरोना संक्रमणबाट जोगिनका लागि जिल्लाका पत्रकारहरुलाई अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कन अनुरोध गरेको छ । निस्कनै परेमा पत्रकारको पहिचान झल्काउने ज्याकेट लगाउन र आफ्नो परिचयपत्र अनिबार्य देखिनेगरी लगाएर हिड्न महासंघले अनुरोध गरेको छ ।
चितवनमा पत्रकारिता नगर्नेहरुले नै आफ्नो सवारीमा प्रेस टाँसेर हिडेको देखिएको बताउँदै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अपरिचित व्यक्ती र सुन्दै नसुनिएका मिडयाको कार्ड बोकेर हिड्ने गरेको गुनासो बढेको बताउनुभयो ।
“पत्रकार महासंघ पत्रकारहरुको हकहितमा काम गर्ने संस्था हो,हामी वास्तविक पत्रकारहरुको हकहितका लागि काम गर्दै आएका छौं,अध्यक्ष खतिवडाले भन्नुभयो’, पत्रकारहरुको नाममा नक्कली पात्रले पेशालाई बदनाम गराउने छुट कसैलाई छैन ।” पत्रकार बाहेक प्रेसको कार्ड लगाएर हिड्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो । मिडयाको बदनाम हुनेगरी प्रेसको दुरुपयोग गर्नेहरुलाई समातेर कारवाही गर्न स्थानिय प्रशासनलाई भनिसकेको उहाँले जानकारी दिनुभयो ।
मिडिया हाउसलाई जथाभावी प्रेस कार्ड नवाड्न अनुरोध गरिसकेको जानकारी दिँदै उहाँले समाचारमा काम नगर्नेहरुलाई पनि पत्रकारको परिचयपत्र दिएको पाइएमा सम्बन्धित मिडियालाई पनि कारवाहीको बिषय बनाइने खतिवडाले बताउनुभयो । “बिशुद्ध समाचारको क्षेत्रमा काम गर्ने र रिपोटिङका लागि फिल्डमा जानै पर्ने पत्रकारहरुका लागि मात्र छुट छ’ उहाँले भन्नुभयो’, ‘निषेधाज्ञामा प्रेस कार्ड बोकेर को किन सडकमा हिडिरहेको छ, महासंघले निगरानी गरीरहेको छ ।” मिडियाका लगानीकर्ता, घर मालिक र नातेदारसम्मले प्रेसका कार्ड बोकेर हिड्ने गरेको गुनासो आएको बताउँदै अध्यक्ष खतिवडाले चितवनमा कुन मिडियाले को कस्लाई प्रेस कार्ड दिएको छ भन्ने महासंघले वुझिरहेको बताउनुभयो ।
“नक्कली प्रेसकार्ड बनाएर रमाइलोको लागि फोटो खिच्न हिड्ने र प्रहरीको चेकिङमा जोगिनका लागि कार्ड देखाउने गरेको सुनिएको छ,उहाँले भन्नुभयो’, ‘फिल्डमा हिड्नुपर्नेहरु भन्दा कामै नपरी मिडियाकर्मी भन्दै सडकमा निस्कनेको संख्या बढ्नु गलत हो ।” आम पत्रकारिताको बद्नाम हुनेगरी भइरहेका यस्ता घटनाहरु तर्फ पत्रकार महासंघ सचेत रहेको उहाँले बताउनुभयो ।
“महामारीको समयमा प्रहरी प्रशासनलाई झुक्याउनकै लागि प्रेसको नाममा कृत्रिम इमर्जेन्सी देखाउदै सडकमा निस्कने छुट कसैलाई पनि छैन र हुन्न, खतिवडाले भन्नुभयो ।” प्रेसको दुरुपयोग बढेपछि पत्रकार महासंघले आन्तकिर रुपमा अनुगमन गरिरहेको उहाँको भनाई छ ।
अध्यक्ष खतिवडाले पत्रकारभन्दा बाहेकलाई पत्रकारको परिचय दिएर कार्ड वितरण गर्ने मिडिया र नक्कली प्रेसकार्ड वोकेर हिड्नेको विवरण सार्वजानिक गरिने बताउनुभयो । कतिपय व्यक्तिहरुले विभिन्न संचारमाध्यमको कार्ड लिएर पत्रकारको नाममा अन्य क्षेत्रका व्यक्तिहरुलाई गाडीमा राखेर हिडिरहेको पनि फेला परेको छ । प्रेस लेखिएको स्टिकर टाँसेर गुडेका नक्कली पत्रकारलाई प्रहरी प्रशासनले पनि सम्मानका साथ छोड्न वाध्य भएको छ ।
























