Breaking News

समुदायमा कोरोना फैलिएपछि नवलपुरमा निषेधाज्ञा पाँच दिन थपियो

Banner

ज्ञानु पंगेनी

नवलपुर, भदौ ९-

जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व (नवलपुरले ) थप पाँच दिन निषेधाज्ञा थप गरेको छ ।

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । यसअघि भदौ ९ सम्म निषेधाज्ञा गरिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरिएको घिमिरेले जानकारी दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रणका लागि भदौ ९ गते राति १२ बजेबाट भदौ १४ गते राति १२ बजे सम्म अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको छ । संक्रामक रोग ऐन–२०२० को दफा २ बमोजिम जिल्लाभर लागू हुने गरी भदौ १४ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्न आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द शर्मा भुसालले जानकारी दिनुभयो ।
खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न, जात्रा महोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन ।

यसैगरी सबै प्रकारका उद्योग व्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप गर्न, धार्मिक, सांस्कृतिक कार्यका लागि जमघट गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल,सैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना,समेत सञ्चालन गर्न पाइने छैन ।
यसैगरी कोभिड संक्रमण भएको जोखिम क्षेत्रभित्र अनावश्यक आवतजावतलाई नियन्त्रण गर्ने , अत्यावश्यक बाहेकका काममा बाहिर निस्किएमा कारबाही गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने , सेनिटाइजनरको प्रयोग गर्ने , साबुन पानीले हात धुने , सामाजिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्नुपर्ने र भए नभएको बारेमा अनुगमन समितिले अनुगमन गर्ने निर्णय समेत गरिएको छ । संक्रमण बढी देखिएको कावासोती, गैँडाकोट र बिनयी त्रिवेण्ीमा कन्ट्रयाक्ट ट्रेसिङको कामलाई प्रभावकारी बनाइ परीक्षणको दायरा बढाउने समेत निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>