चितवन विशेष

चितवनमा दैनिक बिरामीको उद्धारमा खटिँदै राप्ती नगरपालिकाका उपप्रमुख लामा

Banner

चितवन, भदौं ८-

चितवनमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अन्य रोग लागेर बिरामी भएका नागरिकहरु समस्यामा पर्ने गरेका छन् । भरतपुर आसपासका बिरामीहरु त अस्पतालसम्म पुग्न खासै कठिन भएन तर टाढा टाढाका गाउँबाट अस्पताल आउन भने निकै कठिन छ । कोरोना संक्रमणको कारणले एकातिर सहजरुपमा एम्बुलेन्स पाउन कठिन छ भने अर्काेतिर अस्पतालमा उपचार गर्न नै मुस्किल देखिन्छ । यस्तो अवस्थामा पनि राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा (मोक्तान) आफै बिरामीको उद्धारमा खटिनु भएको छ ।

चैत ११ गते लकडाउन भएसँगै राप्ती नगरपालिकाबाट आजसम्म झण्डै १०० जना जति दीर्घरोगका बिरामीहरु नगरपालिकाको आफू चढ्ने गाडीमा राखेर भरतपुर ल्याउनुभयो । कहिले दिनकै दुई, तीन जनासम्म बिरामीहरु भरतपुरका विभिन्न अस्पतालमा ल्याउनु हुन्छ । सोमबार पुरानो मेडिकल कलेज र क्यान्सर अस्पतालमा दीर्घरोगका बिरामीहरु उद्धार गरेर ल्याउनुभयो ।

राप्ती नगरपालिकाका क्यान्सर, मृगौंलालगायत अन्य दीर्घरोगीहरु निकै पीडामा बाँचिरहेको देखेर आफूले सामाजिक सेवाको कार्य गरेको उपप्रमुख लामाले नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले भन्नुभयो, ‘सारा सम्पत्ती सकिएर पैसा नभएर एम्बुलेन्स चढ्ने खर्च पनि नभएका बिरामीहरुको उद्धार गरिरहेको छु । समय समयमा किमो चढाउनुपर्ने र मृगौलाको डायलाइसिस गर्नुपर्ने अवस्था भएका बिरामीहरुको घरघरमा पुग्दा कहालीलाग्दो अवस्था देखेपछि मलाई बिरामीहरुको उद्धार गर्न मन लाग्यो ।’

नगरपालिकाका विभिन्न वडाबाट भरतपुरका विभिन्न अस्पताल जानुपर्ने बाध्यता भएका बिरामीहरुले फोन गरे पछि उहाँ बा २ झ ३६६६ नम्बरको सेतो कार चलाएर घरघरमा पुग्नु हुन्छ । नगरपालिकाको एम्बुलेन्स ड्राइभरहरु भयभित भएका कारणले पनि उनीहरु पालो पालो बिरामी ओसार्छन् । तर उपप्रमुख लामाले भने कुनै झन्झट नमानी र कोरोनाको त्रास नलिइकन निरन्तर चैतदेखि बिरामीहरुको उद्धार गरिरहनु भएको छ । उहाँले यसरी बिरामीको उद्धार गर्नु आफ्नो रहर र बाध्यता दुवै भएको नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सबै जना कोरोना संक्रमणबाट डराइरहेको बेलामा म पनि सुरक्षाको उपाय अपनाएर पीपीई लगाएर नै बिरामीको उद्धारमा खटिएको छु ।’ उहाँले संकटको बेलामा मिनी बस, माइक्रो बस केही नचलेको बेलामा सबैलाई जीवनको माया हुने भएकोले कोरोना संक्रमित भन्दा बाहेकका बिरामीहरु ओसार्न आफू निरन्तर खटिरहेको बताउनुभयो ।

भण्डाराका व्यवसायी शिवराम पराजुलीले एम्बुलेन्स खर्च पनि नभएका आर्थिकरुपमा विपन्न बिरामीहरुको सेवामा उहाँ निरन्तर लागिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘क्यान्सरका बिरामी,डायलाइसिस गर्नुपर्ने बिरामी तथा अन्य बिरामीलाई आफै गाडी चलाएर अस्पताल सम्म पुर्याइ उपचारमा सहयोग गर्नु भएको छ । त्यस्तै हात्तीको आक्रमण बाट क्षति भएको घर तथा सेनाका कुटपिट बाट निधन भएका व्यक्तिको घर व्यक्तिगत खर्चमा बनाउने जस्ता दीनदुःखी गरिब जनताको मन मस्तिष्कमा रही काम गर्नु भएको छ ।’ उमप्रमुख लामाका भाइ कुवेरसिंह लामाले दाईलाई हरेक दिन बिरामीको उद्धार गर्दागर्दै अन्य घरायसी काम गर्ने फुर्सद नै नभएको बताउनुभयो । राप्ती नगरपालिकाका सूचना अधिकारी मुक्ति पौडेलले पनि उपप्रमुख लामा आफ्नो गाडीमा निरन्तर नगर क्षेत्रका बिरामीहरुको उद्धारमा खटिएको बताउनु भयो । विगतमा शिक्षण पेसासँगै राजनीति गर्दै लुम्बिनी विकास कोषको कार्यकारी निर्देशकको भूमिका निभाइ सक्नु भएको लामालाई बौद्ध दर्शनको गहिरो ज्ञानले पनि सामाजिक सेवामा खटिन अभिप्रेरित गरेको भण्डाराका स्थानीयहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>