विचार/ब्लग

कोरोनासँग बच्न सचेत रहनुको विकल्प छैन

Banner

महेश सापकोटा

अहिले संसारभर कोरोना माहामारी फैलिरहेको छ । शक्तिशाली र विकसित् मुलुकहरुमा सबैभन्दा बढी कोरोनाको पीडा परेको सर्वविदितै छ । विश्वका बहुसंख्यक देशहरुमा उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय प्राय बन्द रहेको अवस्था छ । चरम आर्थिक मन्दी छ । भौतिक दूरी कायम गर्नुपर्ने र आफ्नो स्वास्थ्यप्रति संवेदनशील रहनुको विकल्प छैन । खोकी लाग्नु, ज्वरो आउनु, थकान महसुस हुनु र श्वासप्रश्वासमा समस्या हुनु कोभिडको लक्षणभित्र पर्छ । भाइरल फ्लुका कारण समेत यस्तै समस्या आउने हुँदा रुघाखोकी लागेको मान्छेलाई कोरोना या भाइरल फ्लु के हो ? भनेर यकिन गर्न निकै कठिन रहेको चिकित्सकहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप वास्तोला रुघा र खोकीसँगै लागेको छ भने तुरुन्त कोरोना परीक्षण गराउनुपर्ने बताउँछन् । त्यसमाथि पनि घरमा दीर्घरोगी छन् भने त झनै खोकीका बिरामीले पीसीआर परीक्षण गराउनै पर्ने सुझाव उनको छ । पीसीआर परीक्षण गर्न आर्थिक रुपमा महंगो भएकोले नियमित परीक्षण सम्भव छैन । त्यसैले खोकीसँग ज्वरो, खोकीसँग श्वासप्रश्वासमा समस्या जस्ता दुई समस्या एकै पटक देखियो भने चाहिँ परीक्षण गराउनै पर्छ ।

कोभिड–१९ र मौसमी फ्लुकोे केही साझा लक्षणहरू हुने गर्छन् । जस्तो, ज्वरो आउनु, खोकी लाग्नु, सास फेर्न कठिनाइ हुनु, थकानको महसुस हुनु, घाँटी दुख्नु, रुघा लाग्नु, मांसपेशी दुख्ने वा शरीर दुख्नु, टाउकोको दुखाइ र केही मानिसमा बान्ता र पखाला हुनु पनि कोभिडको कारण हुन सक्ने अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रल एण्ड प्रिभेन्सनले जनाएको छ । यद्यपि बान्ता वा पखालाको समस्या बयस्कभन्दा बच्चाहरूमा अधिक देखिने गरेको पनि उल्लेख छ ।अनुसन्धान रिपोर्टले अन्य फ्लु लागेको एक जनाले १.३ जना सम्मलाई सार्न सक्छ भने कोभिड लागेको मान्छेले २.२५ जना सम्मलाई सार्न सक्ने बताइएको छ ।

प्रादेशिक हिसाबले हेर्दा प्रदेश २ मा कोरोना समुदायमा फैलिसकेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको खोजी गर्न सकिएको छैन । उनीहरू कहाँ, कसरी र कोसँग बसेका छन्, तथ्यांक छैन । कोही संक्रमित हो कि होइन र संक्रमित कहाँ पुगेको छ भन्ने कसैलाई पनि जानकारी छैन । अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित राज्यका नेतृत्वदायी निकायमा काम गर्ने कर्मचारी एवम् नेताहरुलाई समेत कोभिड–१९ को संक्रमण देखिन थालेको छ। तिनैमध्ये प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना पुष्टि भएको थियो।

हाल सम्म २९ हजार ६४५ कोरोना संक्रमणका केसहरु देखिएका छन १२६ जना को मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन । चार महिना लामो बन्दाबन्दीपछि पनि कोभिड–१९ को संक्रमण नरोकिनुमा सरकारको तयारी र जनताको हेलचेक्रयाइँ कारक भएको विज्ञहरु बताउँछन् । संक्रमित बढ्नुको मुख्य कारण विदेशबाट आउने मानिसहरुलाई सरकारले निगरानी गर्न नसक्नु, अव्यवस्थित क्वारेन्टाइन, अपर्याप्त परीक्षण, सम्पर्क व्यक्ति पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गर्ने काम हुन नसक्नु नै हो

सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विभिन्न जिल्लामा ‘निषेधाज्ञा’ जारी गरेको छ । हालसम्म ४० बढी जिल्लामा जिल्लाका प्रमुख जिल्ला अधिकारीले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेका छन् । अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने र होटल, रेष्टुराँमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गर्ने भनिएको छ । स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान’ अनुसार नेपालका अस्पतालमा कुल २६ हजार ९३० शैया छन् भने एक हजार ५९५ आईसीयू, ८४० भेन्टिलेटर, तीन हजार ७६ आइसोलेसन बेड छन्। आईसीयू सुविधा भएका अस्पताल १९४ वटा, कोभिड–१९ क्लिनिक चलाउने अस्पताल १११ वटा, लेभल–१ का कोभिड अस्पताल १३ वटा, लेभल–२ अस्पताल १२ वटा र लेभल–३ अस्पताल तीन वटा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को कुनै उपचार नभएको र जनता सचेत नभएसम्म परीक्षणको दायरा बढाएर मात्र रोकथाम नहुने बताए। घना बस्ती भएका क्षेत्रहरूमा संक्रमितको संख्या बढ्दै गएमा हाम्रा अस्पतालले धान्न सक्दैनन् । सरकारले के सोच्छ भने परीक्षण गरेर फाइदा छैन। लक्षण नभएका मान्छे आफै ठीक हुन्छन् र लक्षण भएका अस्पतालमा आउँछन्। तर, लक्षण नभएकाले सार्ने सम्भावना बढी छ। क्वारेन्टाइनमा बसेका लक्षणविहीनहरुले समुदायमा सारेको देखिन्छ।

पहिलो लकडाउनको अन्त्यसँगै धेरै स्थानीय निकायहरुले सञ्चालन गरेका क्वारेन्टाइन बन्द गरे । केही स्थानीय सरकारले क्वारेन्टाइन बेवस्थापन खर्चमा व्यापक आर्थिक अनियमितता गरेको समाचार बहिरिएका छन् । यस्तो माहामारीमा जनताका प्रतिनिधिनै जवाफदेहिता र पारदर्शिताको धज्जी उडाउँदै आर्थिक चलखेलमा लाग्नु एउटा बिडम्बना हो, भारत तथा तेस्रो मुलुक बाट आउने नेपाली नागरिकहरुलाई घरमै क्वारेन्टाइमा बस्न भनियो । तर, मानिसहरु लुकिछिपी घरमै बस्न थाले, कोरोना संक्रमित भएका आइसोलेसनमा राख्न पर्नेलाई बिना परीक्षण घरमा पठाइयो । परीक्षण नगरेरै घरमा पठाउने हो भने आइसोलेसनमा राख्नुको कुनै औचित्य थिएन । कोरोना संक्रमितलाई घर परिवार र समुदायले गरेको दुव्र्यवहारका कारण, मिथिला बिहारी नगरपालिकाका, धनुषाका एक जना युवाले त आत्महत्या गरे । कोरोना माहामारी परिवेशमा कोरोनाको संक्रमण हुनु कुनै अपराध थिएन । संक्रमित व्यक्तिलाई हौसला, माया, हेरविचारको सट्टा घर र समुदायबाट अमानावीय व्यवहार गरियो फलस्वरुप् अस्वभाविक मृत्युवरण हुनपुग्यो ।

नेपालको अहिलेको अवस्था विश्लेषण गर्दा के देखिन्छ भने, हस्पिटल भरी भराउ छन् । बेड सजिलै उप्लब्ध हुने अवस्था छैन । तीव्र ज्वरोका बिरामी पाँच जनाले त अस्पातल भर्ना हुन नपाइ ज्यान गुमाउन प¥यो । अन्य दीर्घ र सामान्य बिरामीको उपचार गर्न सक्ने अवस्था छैन । अवस्था जटिल बन्दै छ । प्रर्याप्त स्वास्थ्य पूर्वधार छैनन् । जसका करण समस्या नियन्त्रण बहिर नजाला भन्न सकिँदैन । सयौं स्वास्थ्यकर्मी संक्रमित भएको खबर बहिरिएका छन् । कारोना परीक्षणको दायरा बढ्दैन । जनताको जीवनयापन कष्ट कर हुँदैछ । विद्यार्थी भाई बहिनीहरुको अधिकार बञ्चित भएको छ । घरेलु हिंसाका घटना बढिरहेका छन् । लाखौंको रोजगारी गुमेको छ, यस्ता यावत् समस्यासँग जुध्दै कोरोनासँग बच्न आँफै सचेत रहनुको कुनै विकल्प छैन ।

कोरोना भाइरससँग बच्न जनताले मास्क लगाइदिने र सामाजिक दूरी कायम गर्ने, अति आवश्यक नभई घरबाट ननिस्कने, २ मिटरको दूरी कायम गर्ने, भीडभाड नगर्ने र पटक पटक कम्तीमा २० सेकेन्डसम्म मिचीमिची साबुनपानीले हात धुने, साबुनपानी नभए स्यानिटाइजरको प्रयोग गर्न भीडभाड नगर्ने, सरकारले परीक्षणको दायरा फराकिलो बनाउने हो भने भने कोभिड–१९ नियन्त्रण हुनसक्छ।

(भरतपुरका लेखक सापकोटा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत छन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>