Breaking News
चितवनको मेघौली सेराइ होटल विश्वकै उत्कृष्ट, पायो विश्व प्रसिद्ध अवार्ड

चितवन, भदौं ४-
भरतपुरको मेघौलीमा चौधरी ग्रुपले सञ्चालन गरेको ताज सफारी ब्रान्डको मेघौली सेराइ होटलले विश्वप्रसिद्ध ‘ट्राभलर्स च्वाइस–२०२०’ अवार्ड प्राप्त गरेको छ ।
विश्वकै ठूलो मानिने यात्रा प्लेटफर्म ‘ट्रिप एड्भाइजर’ले १८औं वार्षिक ट्राभलर्स च्वाइस–२०२० पुरस्कार विजेताहरू घोषणा गरेको हो। ट्रिप एड्भाइजरले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई वार्षिक रूपमा पुरस्कार प्रदान गर्दै आएको छ। पर्यटकहरूले घुमघामका क्रममा पुगेका होटल, रिसोर्ट र रेस्टुरामा पाएको आतिथ्य र सुविधा सम्बन्धी अनुभवलाई ट्रिप एडभाइजरले फिडब्याकका रूपमा लिने गरेको छ। यो फीडब्याकका आधारमा उक्त एजेन्सीले सम्बद्ध होटल, रिसोर्ट र रेस्टुराको स्तर निर्धारण गर्नुका साथै पुरस्कृत गर्ने गरेको छ।
यिनै आधारमा ट्रिप एड्भाइजरले विश्वभरीकै शीर्ष १० प्रतिशत होटल र रिसोर्टहरूमा मेघौली सेराइलाई छान्दै पुरस्कृत गरेको हो। ‘यो सम्मानबाट हामी धेरै खुसी छौं। हामीलाई विश्वास गर्ने अतिथिहरूलाई धन्यवाद दिन चाहन्छौं,’ लाइफस्टाइल कलेक्टिभका सीइओ प्रीत सिंहले भन्नुभयो, ‘यो सम्मानले अझ उत्कृष्ट सेवा दिन हामीलाई उत्प्रेरित गरेको छ।’
ताज सफारीमा जंगलको रमणीय दृश्य हेर्न सक्ने १२ वटा कोठा छन् । साथै, १६ वटा निजी स्वीमिङ पुल भएका भिल्ला, प्रेसिडेन्सियल सुइट लगायतका कोठा उपलब्ध छन्। विभिन्न कलाकृति झल्किने आकृति कोठाहरुमा रहेको कम्पनीले जनाएको छ। ताज सफारी ब्रान्डको साथमा सीजी हस्पिटालिटीद्वारा सञ्चालित मेघौली सेराइ चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदी किनारमा स्थापित पाँचतारे जंगल लज हो। यसअघि पनि सन् २०१८ मा दक्षिण एसिया र नेपालको सर्वश्रेष्ठ रिसोर्टको रुपमा होटल अवार्डले सम्मानित भएको थियो ।

(एजेन्सीको सहयोगमा )
























