Breaking News
चितवनमा बढ्दै कोरोना संक्रमण, संक्रमितको संख्या २८० पुग्यो

चितवन, भदौं ३–
चितवनमा पछिल्ला केही सातायता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या निरन्तर बढ्दै गइरहेको छ । साउन २१ गते यता हरेक दिन चितवनमा कोरोना संक्रमित थपिदै गएका छन् । आज (बुधबार) अपरान्हसम्मको तथ्यांक अनुसार चितवनमा हाल संक्रमितको संख्या २८० पुगेको छ ।
भरतपुर अस्पतालका सूचना लिलाधर पौडेलका अनुसार हाल १६५ जना सक्रिय संक्रमित हुन् । अन्य ११३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । चितवनमा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । जिल्ला सदरमुकाम हुनुको साथै मेडिकल सिटी समेत भएकाले भरतपुरमा संक्रमित बढी फेला परेका छन् । भरतपुर महानगरपालिका भित्र हाल १४८ जना कोरोना संक्रमित रहेका छन् । यस्तै राप्ती नगरपालिकामा ६२, माडी नगरपालिकामा ४१, खैरहनी नगरपालिकामा १२, रत्ननगर नगरपालिकामा ११, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा एक जना कोरोना संक्रमित रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
चितवनमा हाल सक्रिय संक्रमित रहेका १६५ जना मध्ये ४२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । ५४ जना भरतपुर अस्पतालमा उपचाररत छन् भने पुरानो मेडिकल कलेजमा एक, क्यान्सर अस्पताल भरतपुरमा पाँच जना, नारायणी सामुदायिक हस्पिटलमा पाँच जना, भरतपुर सेन्ट्रल हस्पिटलमा पाँच जना, श्रीपुष्पाञ्जली हस्पिटलमा एक जना र चितवन मेडिकल कलेजमा चार जना र ४८ जना संस्थागत आइसोलेसनमा रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
चितवनमा स्वास्थ्यकर्मीहरु पनि धेरै संक्रमित भएका छन् । हालसम्म जिल्लामा ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । चितवनमा पछिल्लोपटक २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति गरिएको परीक्षणमा चितवनका २० जनासहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।























