Breaking News

विकल्पको खोजीमा सौराहाका होटल व्यवसायी, होटलका कोठामा कुखुरा र बाख्रा पाल्दै

Banner

दिपेन्द्र चौधरी (दिपेश)

सौराहा, भदौं ३-

कोरोनाको महामारीले थलिएको सौराहा लकडाउन खुलेयता विस्तारै जुरमुराउन खोज्दै थियो । पर्यटकहरु नभए पनि बिदामा पठाएका केही कर्मचारीलाई बोलाएर सरसफाइको काम चल्दै थियो । तत्कालै पर्यटकहरु नआए पनि दसैँसम्म आन्तरिक पर्यटकहरु बढ्न सक्ने ब्यावसायीले झिनो आशा गरेका थिए तर सोचेजस्तो भएन ।

चितवनलगायत देश भर कोरोनाको संक्रमण बढ्दै गएपछि जुरमुराउन खोज्दै गरेको सौराहा पुन सुस्ताउन पुग्यो । उठ्न खोजेको सौराहको पर्यटन व्यवसाय फेरि ठप्प भयो । सौराहाका होटल तथा रेष्टुरेन्टहरु फेरि पनि क्षणभरमै बन्द भए । पर्यटकको अगमन नभएपछि यहाँका ससाना पसलहरु पनि बन्द भए । समुदायस्तरमा नै संक्रमण देखिन थालेपछि व्याबसायीहरु थप मारमा परे । लगातारको बन्दको कारण आम्दानीको स्रोत नै बन्द भएपछि यहाँका पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरु अन्य वैकल्पिक उपायहरु सोच्न थालेका छन् ।

क्षेत्रीय रेवानका पूर्वअध्यक्ष सुवासचन्द्र गौतमले होटलकै एटेज बाथ रुम भएको कोठमा लोकल कुखुरा पालन सुरु गर्नु भएको छ । व्यवसाय ठप्प भएपछि दैनिकी चलाउन र आफू पनि थोरै व्यस्त हुनका लागि उहाँले यो काम सुरु गर्नु भएको हो । पर्यटन व्यवसायवाट जीवन चलाउँदै आउनु भएको गौतम एकाएक कुखुरा पालन गर्ने कृषक बन्नु भएको छ । ‘लकडाउन सुरु भएपछि पर्यटन ब्यावसाय नै ठप्प भयो । चैतमा लकडाउन भए पनि वातावरण सहज हुनेमा हामी आशावादी थियौं’, गौतमले भन्नु भयो, ‘सोचेजस्तो भइदिएन, पर्यटन क्षेत्रमा नै सम्पूर्ण परिवार आश्रित रहेको अवस्थामा आम्दानीको स्रोत बन्द भएपछि वैकल्पिक उपाय खोज्नुपर्ने बाध्यता सृजना भयो ।’ ठप्प भएको पर्यटन क्षेत्रले थप समस्याहरु सृजना हुन सक्ने भएकाले बेलैमा विकल्प सोच्नुपरेको उहाँको भनाइ छ ।

पहुना बस्ने ठाउँमा अहिले लोकल कुखुरा रहेको छ । उहाँले पर्यटक राख्ने एटेज बाथरुम भएको कोठामा नै कुखुरा पाल्न थालेको बताउनु भयो । पाहुनाका लागि विभिन्न किसिमका खाना पकाएर खुवाउन माहिर गौतम अहिले कुखुरा पालनको विषयमा अध्ययन गरिरहनु भएको छ । . दैनिक युट्युब हेरेर कुखुरापालन सम्बन्धी ज्ञान लिइरहनु भएको छ । अहिले उहाँको रेष्टुरेन्टमा ४०० वटा लोकल प्रजातिका कुखुराहरु छन् । यसअघि उहाँले ३५० वटा बिक्री गरिसक्नु भएको छ ।

उहाँले कुखुरासँगै बटाई चरा पनि पाल्न सुरु गरिसक्नु भएको छ । कुखुरासँगै सानो खोर बनाएर २०० वटा बटाई चरा पाल्नु भएको छ । कुखुरा र बटाई पाले यता उहाँको दैनिकी थोरै सहज बनेको छ । दिनभर कुखुरा र बटाई हेरेर उनीहरुलाई दानापानी हाल्दै रेखदेख गर्दा महामारीले सृजना गरेको पीडालाई थोरै भुल्ने माध्यम बनेको सुनाउँनु हुन्छ । यो अवस्था जारी नै रहे कुखुरा पालनलाई थप व्यवस्थित गरी वृहतरुपमै अघि बढ्ने उहाँले योजना सुनाउनु भयो ।

रेवानका पूर्वअध्यक्ष गौतम जस्तै क्षेत्रीय रेवान सौराहाका निवर्तमान अध्यक्ष तथा अलफ्रेस रेष्टुरेन्टका सञ्चालक गोकर्ण गिरीको पनि दैनिकी यसैगरी बित्ने गरेको छ । हात्तीचोक नजिकै रहेको उहाँको लजमा पाहुनाहरु भरिभराउ हुन्थें । पाहुनाहरु आउन छाडेपछि उहाँले पनि वैकल्पिक पेसाको रुपमा बाख्रापालन सुरु गर्नु भएको छ । अहिले ८ वटा बाख्रा खोरमा छन् . यस्तै १५० वटा लोकल प्रजातिका कुखुराहरु छन् भने केही बटाई चराहरु छन् । सौराहामा रेष्टुरेन्ट सञ्चालन गरेको लामो अनुभव रहेको गिरी हिजोआज पशुपन्छीको रेखदेखमा समय बिताउनु हुन्छ ।

तत्कालै सौराहाको अवस्था सहज हुन नसक्ने उहाँको अनुमान छ । पर्यटन क्षेत्रमा भइरहेको समस्याका कारण वैकल्पिक पेसाको रुपमा पशुपालन तर्फ उन्मुख बन्दै जानु भएको गिरीले सौराहा नजिकै २६ कठ्ठा जग्गामा झण्डै १० लाख रुपैयाँको लगानीमा ब्यावसायिक रुपमा कुखुरा तथा बाख्रा पालन गर्ने योजना बनाउनु भएको छ । ८०० बढी लोकल कुखुरा र १२० बढी बाख्रापालनका लागि आवश्यक गृहकार्यमा लागेको गिरीले जानकारी दिनुभयो । गिरी जस्तै यहाँका धेरै रेष्टुरेन्ट व्यवसायीहरु वैकल्पिक पेसा अपनाउने तयारीमा छन् ।

लामो समय पर्यटन क्षेत्रमै बिताएका अर्जुन चौधरीको होटलमा पनि ब्राखा चरेको देख्न सकिन्छ । उहाँले अहिले ७ वटा बाख्रा आफ्नो होटलमै पाल्नु भएको छ । उहाँले बाख्रा थप गर्ने योजना रहेको सुनाउनु भयो । यस्तै उहाँले १०० लोकल कुखुराको चल्ला ल्याउने तयारी गर्दै हुनुहुन्छ । लोकल कुखुराको चल्ला अर्डरसमेत भइसकेको बताउनु भयो । यस्तै एकहजार वटा ब्रोइलर कुखुराको चल्ला समेत अर्डर गर्नुभएको छ । उहाँ होटल पार्क इनका सञ्चालक हुनुहुन्छ । महामारीले होटल ठप्प भएपछि फुर्सदिला बन्नु भएको चौधरी व्यवसायिक रुपमै पशुपन्छी पालेर थोरै आफूलाई व्यस्त बनाउन चाहनु हुन्छ । होटलमा बाख्रापालन र कुखुरा पालन भएपछि मानसिक तनाव थोरै कम हुने उहाँको विश्वास छ ।

यसरी पर्यटन क्षेत्रमा परेको महामारीको असरबारे कहीकतै चिन्तन र बहस भएको देखिदैन । स्थानीयदेखि केन्द्रीय तहका अधिकारीहरु यो विषयमा बेखबर छन् । क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दीपेन्द्रप्रसाद खतिवडाले पर्यटन क्षेत्रमा लागेका रेष्टुरेन्ट व्यवसायीहरुलाई पलायन हुनबाट राज्यले रोक्नुपर्ने बताउनु हुन्छ । . रेष्टुरेन्ट व्यवसायीहरुको अवस्थालाई गहन तरिकाले अध्ययन गरेर राज्यले फरक फरक खालेको प्याकेज ल्याउनुपर्ने उहाँको भनाइ छ । अहिले सौराहाका साना ठूला गरी ५६ वटा रेष्टुरेन्ट तथा होटलहरु क्षेत्रीय रेवानमा आबद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>