विचार/ब्लग

कहिले खुल्छ शिक्षालय ?

Banner

बाबुराम खनाल-

विगत पाँच महिनादेखि बन्द नेपालका शैक्षिक संस्थाहरु अब कहिले खुल्छन ? बढ्दो कोरोना संक्रमणसँगै के हामी अब यो शैक्षिक शत्र ‘कोल्याप्स’ को घोषणाको पर्खाइमा छौं ? राष्ट्रिय परीक्षा बोर्डको १२ कक्षासँगै विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाको कार्यक्रम अब नहुने नै हुन् त ? यावत प्रश्नहरुले हामी सम्पूर्ण सरोकारवालाहरुलाई पछ्याइरहेको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयले यी प्रश्नहरुलाई ढाडस मिलेको देखिन्छ ।

नेपालको तयारी र बाह्य सन्दर्भ

विगत केही दिनयता उपत्यकालगायत विभिन्न जिल्लाहरुमा नाटकीय रुपमा कोरोना संक्रमण नबढेको हुन्थ्यो भने सायद यही भाद्र १ गतेबाट विद्यालयहरुको भर्ना प्रकिया सुरु हुन्थ्यो । त्यस्तै, १२ कक्षा तथा विश्वविद्यालय तहका परीक्षाहरु दसैँ अगाडि नै सक्ने गरी गृहकार्य भइरहेको थियो । शिक्षा मन्त्रालय तहगत रुपमा लागू हुने परीक्षालगायत शैक्षिक कार्यक्रमसम्बन्धी निर्देशिका तयार पार्न ब्यस्त देखिन्थ्यो । तर, मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णयसँगै शिक्षालयहरु सबै कहिले खुल्छन् भन्ने कुरा थप अन्योलपूर्ण बनेको छ ।

छिमेकी देश भारतमा पनि लगभग नेपालकै खालको अनुभव छ । आसाम ,आन्ध्र प्रदेश, पश्चिम बंगाल तथा गोवा राज्यहरुमा अन्यथा नभए अबको एक महिनापछि (सेप्टेम्बर)मा विद्यालयहरु खुल्ने कुरामा त्यति विश्वस्त छैन । ५० हजार बढी नागरिक कोरोनाको कारणले मृत भइसकेको र लगभग २५ लाख बढी भारतीय संक्रमित भएको यस अवस्थामा भाइरसको महामारीको विस्तृत अध्ययन तथा विद्यार्थीहरुको सुरक्षाको सुनिश्चितता नभएसम्म शैक्षिक संस्थाहरु खोल्ने निर्णय नगरिने केन्द्रीय शिक्षामन्त्री रमेश पोखरियालले मिडियासामु बताइसकेका छन् । त्यस्तै, नेपालमा जस्तै भारतका विभिन्न अभिभावक संगठनहरुले पनि छिटो विद्यालय खुल्ने कुरालाई अपत्यारिलो ठानेका छन् ।

विश्वमै सबैभन्दा बढी कोरोना भाइरस प्रभावित अमेरिकामा पनि हालसम्म अपवादबाहेक शिक्षालयहरु खुल्न सकेका छैनन् । मिसिसिपी, इन्डियना, जर्जिया जस्ता राज्यहरुमा गत महिना शिक्षालयहरु खुलेर पनि सयांैको संख्यामा विधार्थीहरुमा संक्रमण देखिएपछि बन्द गरिएको छ । विश्वविख्यात हावर्ड विश्वविद्यालयलगायतका चर्चित शिक्षालयहरु प्नि पत्यक्ष पठनपाठन गराउने वा नगराउने द्धिविधामा छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले यही सेम्टेम्बरबाट सम्पूर्ण विद्यालय तथा विश्वविद्यालयहरु खुल्नुपर्ने बताइसकेका छन् ।

उता दक्षिण कोरियामा दुई महिनापछि विद्यालयहरु खोलेर पनि कोरा्नाको संक्रमण बढेसँगै फेरि बन्द गर्नुपरेको छ । यस्तो सन्दर्भमा नेपाल जस्तो अविकसित तथा परनिर्भर देशमा सामान्य अवस्था नहुँदै शैक्षिक संस्थाहरुकै सञ्चालन कसरी सम्भव छ र ?

उपाय के त ?

पहिलो शैक्षिक शत्र खेर जान नदिने तर्फ सबै सरोकारवाला पक्षहरु सहमत हुनुपर्छ । एउटा विद्यार्थीको एक शैक्षिक वर्ष खेर जानु भनेको उसको भविष्यको कुनै एक महत्वपूर्ण उत्पादकीय वर्ष आफ्नो जीवनबाट नै गायव हुनु हो । त्यसैले विद्यालय तहको पाठ्यभार अनुसार १९० दिन पठनपाठन हुनै पर्ने सुगा रटाइबाट हामी सबै मुक्त हुनुपर्छ । शैक्षिक सत्र रोकिँदा उसको उमेर रोकिदैन, शारीरिक तथा मानसिक वृद्धि रोकिदैन । उसको छिप्पिदै गरेको परिपक्वता रोकिदैन ।

दोस्रो, पठनपाठनलाई सुचारु गर्ने वैकल्पिक विकल्पहरु खोजिनु पर्छ र त्यसलाई सरकारले संक्रमणकालिन अवधि भर वैधता दिनुपर्छ । अनलाइन, रेडियो टेलिभिजनलगायतका प्रविधिहरुको यथासक्य धेरै प्रयोग गर्नुपर्छ । प्रविधिको पहुँचमा नरहेका विद्यार्थीहरुको लागि होम स्कुलिङ, प्रिन्ट सामग्रीको प्रयोगलगायतबाट सहयोग गर्न सकिन्छ । सम्भव भएको स्थानमा भर्चुअल कक्षालाई अझ व्यवस्थित बनाइ अगाडि बढाउनु पर्छ ।

मिडास आईएक्स एल जस्ता डिजिटल सामग्रीहरुलाई सर्वसुलभ ढंगले विद्यार्थीहरुलाई विभेद हुन्छ भनी नसोची सकेसम्म सबैलाई फाइदा हुने गरी योजना बनाउनुपर्छ । सबै जनावरहरु बराबर हुन् तर केही जनावरहरु बढी बराबर हुनुु एनिमल्स फार्मका लेखक जर्ज अरओयलको विचारलाई यस सन्र्दभमा बुझ्नुपर्ने हुन्छ ।

तेस्रो शिक्षक तथा अभिभावकहरुको अधिकतम भूमिकालाई पोत्साहन गर्नुपर्छ । शिक्षक तथा अभिभावक सक्रिय भएमा घरमै रहेका विद्यार्थीलाई पनि असाधारण तरिकाले सिकाउन सकिन्छ । विद्यार्थीलाई कसरी खोजमूलक कसरी सिकाउने भन्ने कुरा एक तालिम प्राप्त शिक्षकले धेरै गर्न सक्छ । त्यसैले ढिलो नगरी शिक्षकहरुलाई सो सम्बन्धी तालिम दिलाउने व्यवस्था गर्नु पर्छ । यसरी विद्यार्थी सम्बन्धी तालिम दिलाउने व्यवस्था गर्नुपर्छ । यसरी विद्यार्थीहरुको सर्वपक्षीय वृद्धि विकास गर्न योगदान गर्ने र सोहीअनुसार मूल्याङ्कन गर्ने परीक्षा प्रणालीको विकास गर्नुपर्छ ।

चौथो, कक्षा १२ तथा विश्वविद्यालय तहका परीक्षाहरु होम सेन्टरमा नै सञ्चालन अनुमति दिई सम्बन्धित निकायले त्यसको निरीक्षण, नियमन तथा व्यवस्थापन गर्नुपर्छ । यसो भएमा सम्वन्धित विद्यालय तथा क्याम्पसले आवश्यक सावधानी अपनाएर एक डेढ महिना भित्रमा नै परीक्षा लिन सक्नेछन् । विश्वविद्यालय तहको पठनपाठनलाई बढी खोजमूलक बनाउन सकिन्छ । पोजेक्ट ओर्क, रिसर्च ओके, बुक रिडिङ असाइनमेन्ट तथा मौखिक अन्तरवार्ता (भाइभा) लगायतरुपमा चलाउन सकिन्छ । प्रविधिको प्रयोग सँगै पढाइलेखाइलाई व्यवहारिक तथा खोजमूलक बनाउने अवसरको रुपमा पनि यस संक्रमणकालिन समयलाई लिनुपर्छ ।

अन्त्यमा,

सरकार सवैको सर्वोच्च अभिभावक हो । सरकारलाई गैरजिम्मेवार हुने छुट छैन । विद्यालय तथा विश्वविद्यालय तथा विश्वविद्यालयहरुलाई समय सान्दर्भिक बनाउन सरकारले सबै खालको सहयोग गर्ने पर्छ । कतिपय विश्वविद्यालयहरुमा पदाधिकारीहरुको समयका नियुक्ति नहुँदा नीतिगत तथा पक्रियागत कार्यहरु हुन सकेका छैनन् । प्रधानमन्त्रीको ध्यान जान जरुरी छ । ‘शत्रोरषि विभिन्यते व्याधि’ अर्थात् शत्रु भन्दा पनि बढी खतरानाक रोग भन्ने कुरा लाई ह्दयङगम गर्दै समस्या र चुनौतीहरुको चाङ्बाट समाधानका उपायहरु खोज्नु छ । मिलेर खोजौ, भोलिको सुन्दर भविष्य सम्झेर खोजौं ।

(लेखक भरतपुरको भ्याली स्टेट कलेज चितवनका प्रचार्य हुनुहुन्छ)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>