Breaking News
डाक्टरलाई कोरोना संक्रमण भएपछि रत्ननगर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

चितवन, साउन २९-
डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि चितवनको रत्ननगरस्थित रत्ननगर बकुलहर अस्पतालले अकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।
अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सो निर्णय गरेको हो ।
अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेका अनुसार अस्पतालमा निरन्तर काममा खटिने ५० जना स्वास्थ्यकर्मीहरूको बिहीबार स्वाब संकलन गरिएको छ। उहाँले कन्ट्याक्ट ट्रेसिङका क्रममा प्राप्त हुने रिपोर्टका आधारमा सेवा सञ्चालन गरिने बताउनु भयो । संक्रमण पुष्टि भएका चिकित्सकको अवस्था सामान्य छ। उहाँको श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। उहाँहरू भरतपुर महानगरपालिका–७ स्थित निवासमा होम आइसोलेसनमा हुनुहुन्छ ।
त्यस्तै, एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सौराहामा रहेका बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएका छन्। प्रभु बैंक सौराहा शाखाका एक कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएको थियो। ती कर्मचारीले नवलपरासीमा स्वाब दिएका थिए। उनी तीन दिनअघि सरूवा भएर सौराहा शाखामा आएका थिए।
सौराहामा झन्डै दुई दर्जन बैंक तथा वित्तीय संस्था छन्। कोरोना संक्रमण देखिएका ती कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी रिपोर्ट नआउन्जेल सम्मका लागि बैंक तथा वित्तीय संस्था बन्द गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले जानकारी दिनुभयो ।
फाइल तस्विर
























