Breaking News
चितवनमा एक महिनामा ५६ जना कोरोना संक्रमित, सतर्क रहन विज्ञको सुझाव

चितवन, साउन २९-
चितवनमा विगत एक महिनामा ५६ जना कोरोना संक्रमित भएका छन् ।
भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा गत असार २६ गतेबाट बुधबार साउन २८ गतेसम्मको अवधिमा सो संक्रमित भेटिएका हुन् । सुरुमा विदेशबाट आएका वा कतै घुम्न गएकाहरु कोरोना संक्रमित भए पनि पछिल्लो समयमा भने कुनै देशमा वा कतै घुम्न नगएका मानिसहरुमा कोरोना संक्रमण देखिएको छ ।
भरतपुर अस्पताल कोरोना नियन्त्रण टिमका संयोजक डा प्रमोद पौडेलले कतै गएका वा कुनै देशबाट नआएका मानिसहरुलाई पनि पछिल्लो समयमा फाट्टफुट्ट कोरोना संक्रमण देखिएको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार चितवनको अवस्था दोस्रो चरणमा रहेको छ । सावधानी नअपनाए समुदायस्तरमा फैलन सक्ने सम्भावना देखियो । ’ उहाँले पहिलो चरणमा ट्राभल हिस्ट्री भएका हरुलाई हुन्छ भने दोस्रो चरणमा फाटफुट्ट समुदायमा र तेस्रो चरणमा पूर्णतया समुदायमा फैलने बताउनुभयो ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन गौरीराम महतोले चितवनमा ट्रेसिङनै राम्रो नभइरहेको भन्दै समुदायमा संक्रमण फैलिसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले देखिएका जति पनि संक्रमितहरु सतहमा रहेका मात्र हुन् । भित्रीरुपमा संक्रमितहरु व्यापकरुपमा रहेका छन् । ’ उहाँले पहिले पहिले विदेशबाट आएका र क्वारेन्टिनमा बसेकाहरुमा मात्र संक्रमण देखिएता पनि अहिले कतै बाहिर नगएको मानिसमा पनि संक्रमण भेटिनुले कोरोना समुदायस्तरमा फैलिइसकेको संकेत गर्ने नारायणी अनलाइनलाई बताउनुभयो ।
चितवनमा एक महिनामा भेटिएका संक्रमितहरु हेर्दा महिलाहरुको संख्या निकै कम रहेको छ । प्राय घर छाडेर देशविदेश बढी हिडडुल पुरुषले गर्नै भएकोले पनि पुरुषमा यो संक्रमण बढी देखिएको विज्ञहरुको दाबी छ । भरतपुर अस्पतालको तथ्यांक अनुसार गत असार २६ गते चितवनका ५ जनामा कोरोना संक्रमण देखिएको थियो जसमा एक महिला र ४ पुरुष थिए । यो तथ्यांकमा एक महिनाको अवधिमा धेरै नै वृद्धि भएको छ । साउन २७ गते मंगलबारको तथ्यांकलाई आधार मान्ने हो भने १० पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । साउन २८ गते बुधबारको तथ्यांक हेर्ने हो भने ७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँको तुलनामा चितवनको संख्या कम नै भए पनि यहाँको जनसंख्या र परीक्षण दरलाई आधार मान्ने हो भने यो संख्या बढी नै हो । चितवनको प्रयोगशालामा २४ घण्टामा २०० वटा मात्र नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको छ । जसमध्ये झण्डै ५० प्रतिशत परीक्षण चितवन भन्दा बाहिर जिल्लाको हुने गरेको छ ।
कुनै पनि भ्रमण इतिहास नभएका मानिसहरुमा संक्रमण देखिएकोले पनि चितवनमा संक्रमण नियन्त्रण बाहिर जान सक्ने भएकोले सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । डा प्रमोद पौडेलले अत्यावस्यक काम नपरी घर बाहिर ननिस्कन र जटिल अवस्था भए मात्र अस्पताल जान सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, ‘जता जाँदा पनि मानिससँग भौतिक दूरी कायम गर्नुपर्छ । हातको सफाइमा पनि विशेष ध्यान दिनुपर्छ ।’ कोरोना नियन्त्रण टोलीको संयोजक पौडेलले वृद्धवृद्धा र बालबालिकालाई संक्रमणको जोखिम बढी रहेकोले मानिसहरुको बानीव्यवहारमा परिवर्तन गर्न जरुरी रहेको सुझाव दिनुभयो । चितवनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।























