विचार/ब्लग

जागौं युवा, हस्तक्षेपको लागि तयार होऔं : स्वरुप सुयाल

Banner

युवा भनेको लक्का जवान, शारीरिक, मानसिक बौद्धिकरुपमा दरिलो मान्छे मात्रै होइन । युवा त विचार हो । दृष्टिकोण पनि हो । युवालाई हामीले मात्रै बलियो र सशक्त मात्रै हुन्छन् भनेर बुझ्नु हुदैन । युवा त एउटा आम त्यस्तै खाले सशक्त चिन्तनको पनि प्रवाह हो भन्ने बुझ्नु जरुरी छ । युवाहरुको सोच दृष्टिकोण र चिन्तन आम अरु मान्छेहरुको भन्दा ज्यादा प्रगतिशील र उन्नत किसिमको हुन्छ । हामीले युवा भनेर उमेरलाई मात्रै सोच्ने बुझ्ने र परिभाषित गर्ने चिजलाइ अन्त्य गर्न जरुरी छ ।

उमेरको दृष्टिले पनि युवालाई फरक फरक उमेरसमूहमा राखेर परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्र संघले एउटा उमेर समूहलाई युवा मान्छ भने भारतले फरक उमेर समूहलाई । नेपालको पनि आफ्नै परिभाषा छ । नेपालले १६ देखि ४० वर्षका मानिसलाई युवा भनेर परिभाषित गरेको छ । यो परिभाषाअन्तर्गत आमा र छोरी, बाबु र छोरा एकैचोटी युवामा पर्न सक्छन् । भोलि राज्य नीति निर्माण गर्दा छोरालाई हेरेर काम गर्ने कि बाबुलाई हेरेर । यसरी हेर्दा हाम्रो परिभाषा वैज्ञानिक देखिएन । खास खास उमेर समूहका किशोरकिशोरी तथा युवाहरुको चासोलाई उचित रुपले सम्बोधन गर्ने प्रयत्नमा हामी सधैं कमजोर सावित हँुदै आएका छौं । अत हामीले युवा भनेको त विद्यमान सोच माथिको अझ उन्नत सोच हो भनेर बुझ्नु पर्छ ।

दुनियाँको सबैखाले राजनीतिक एवम् सामाजिक परिवर्तन युवाको सहभागिता र उनीहरुकै महत्वपूर्ण भूमिका बिना सम्भव भएको छैन । हर कुनै घटना र मुद्दामा युवाहरुको लगनशिल भूमिकाले गर्दा संसारको प्रायः सबै परिवर्तन सफल भएका हुन् । राजनीतिक व्यवस्था परिवर्तनको क्रान्ति र आन्दोलनहरुमा युवा शक्तिको सहभागिता उल्लेख्य रुपमा रह्यो । अझै भनौं हस्तक्षेपकारी नै भयो भन्नुपर्ने हुन्छ । समाजको आर्थिक, सामाजिक एवम् राजनीतिक अभियानमा युवाहरुले अत्यन्तै उत्कृष्ट भूमिका निर्वाह गरेको दृष्टान्त संसार सामु जगजाहेर छ । दुनियाँलाई यसरी परिवर्तन गर्न सक्ने, संसारलाइ उलटलुलट गर्न सक्ने युवाहरुलाई भविष्यको कर्णधार मात्रै बनिरहेको तर अझै पनि वर्तमानमा साझेदार बन्न नसकिरहेको परिस्थिति छ । युवालाई केवल देखाउने, लडाउने, विद्रोह गर्न मात्रै लगाउने अनि सत्ता र शक्तिमा, नीति निर्माण र कार्वान्वयनको तहमा सहभागिता भने नगराउने रोग समाजमा व्याप्त नै छ । युवाहरुले अरु सबैले गर्न सक्ने जति सबै क्षेत्रका काम कारबाही गर्न सक्छन् तर यो या त्यो कारण र रुप देखाएर उनीहरुलाई भूमिका दिइँदैन । अब युवाहरुले आफ्नो अर्गानिक क्षमताको भूमिकाको निमित्त आवाज उठाउनै छ । युवाहरुले आफ्नो क्षमता अनुसारको काम आफैले गर्न पाउने व्यवस्थाको निमित्त हस्तछेपकारी आफ्नो दायित्वलाई सम्झिएर त्यसको निमित्त लाग्नै पर्ने बेला आएको छ ।

एकजना युवा समाजको सबै खाले जिम्मेवारी लिएर वर्तमानको जिम्मेवार भूमरीमा निर्वाह गर्दै भविष्यको निमित्त थप परिपक्वता प्रदर्शन गर्न सक्षम हुन्छ । तर, यसको लागि युवाले पनि वि चार,चेतना र ज्ञानको दायरा अभिवृद्धि गर्नु जरुरत हुन्छ । एउटा युवा सक्षम हुन राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा सबै पक्षको थोर बहुत विषयमा जानकार र शिक्षा हासिल गर्नु पर्छ । यहाँ औपचारिक शिक्षा मात्रै होइन अनौपचारिक शिक्षालाई पनि युवा समुदायले विशेष चाख राख्नु पर्छ । अध्ययनको दायरालाई अझै फराकिलो बनाउनु पर्छ । विश्वविधालयबाट औपचारिक शिक्षा लिनु त अनिवार्य नै छ तर युवा शक्ति अझै परिपक्क र उत्कृष्ट बन्नका लागि समाज देश दुनियाँ र संसारलाई नजिकबाट चिन्नु जरुरी छ । यसरी समाजलाइ चिन्न बुझ्न् समूह, संगठन र राजनीतिक मोर्चाहरुमा अझै हस्तक्षेपकारी भूमिकामा युवाहरुले आफूलाइ उभ्याउन जरुरी छ।

२०६२ र ६३ को शान्तिपूर्ण जनक्रान्तिपछि नेपाली राजनीतिमा केही हदसम्म युवा शक्तिको भूमिका बढेको छ । यद्यपि यो पर्याप्त र उचित स्थानसम्म भने अझै पुग्न सकेको छैन । नेपाली राजनीतिमा एकजना युवा कुनै राजनीतिक पार्टीमा छिरिसकेपछि नेता बन्नको लागि पार गर्नुपर्ने चरणहरु धेरै छन् । ठूला भनिने पार्टीहरु जस्तो कि नेपाली कांग्रेस र नेकपामा अझै पनि साधारण सदस्य बनेको निश्चित वर्षपछि मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाइन्छ । यसरी हेर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा र क्षमताले नेतृत्व गर्ने होइन कि पार्टी प्रवेश गरेपछि पार्टी जस्तो छ त्यस्तै बनिसकेपछि मात्रै नेतृत्वमा आउने सम्भावना रहन्छ । हाम्रा राजनीतिक पार्टी भित्रका संरचनाहरु युवा मैत्री पटक्कै होइनन् र छैनन् । समाजको परिवर्तन गर्ने मुख्य शक्ति राजनीतिक पार्टी नै भएकोले युवा समुदायले राजनीतिक पार्टीमा नै आफ्नो भूमिका खोज्ने, राजनीतिक रुपमा नै दृष्टिकोण निर्माण गर्ने र राजनीति सिद्धान्तकै आधारमा सामाजिक रुपान्तरणको अभियानहरु सञ्चालन गर्नुपर्छ ।

हामी युवाहरुले तत्कालको नाफाघाटा, तत्कालको स्वार्थलाई भुलेर स्वावलम्बी, दक्ष र व्यवसायिक बन्नु पर्छ । हामी युवामा कुनै पनि नेताको फेर नसमातिकन म आफ्नो तरिकाले मेरो निजी जिन्दगी बाँच्न सक्छु भन्ने क्षमता र आत्मविश्वासको विकास गर्नुर्छ । त्यसरी बाँच्न सक्ने क्षमता र आत्मविश्वास हासिल गरिसकेपछि नेताहरुसँग प्रश्न गर्न सकिन्छ र नयाँ एजेन्डा स्थापित गर्न सकिन्छ । वैचारिक रुपले प्रष्ट र पारदर्शी बनाउन सकिन्छ । यसबाट आन्तरिक लोकतन्त्र बलियो बनाउन सक्ने आत्मविश्वास पनि युवाहरुमा विकास हुन्छ । यसरी, पहिला युवाहरु नै एजेण्डामा स्पष्टता, वैचारिक प्रष्टता हासिल गर्न सक्यौं भने बल्ल पार्टीभित्र नयाँ संगठन र अभियान संगठित गर्न सकिन्छ । यसरी दलको रुपान्तरण सम्भव हुन्छ र दल फेरिए देश फेरिन सक्छ ।

यसैले युवाहरु समाजलाई फेर्ने हाम्रो ऐतिहासिक दायित्वलाई कहिल्यै भुल्नु हुदैन। आज अन्तर्राष्ट्रिय युवा दिवसको दिनमा मात्रै हामी ले यस युगिन दायित्वलाई सम्झ्निे होइन। १२ अगस्टलाई हामी अन्तर्राष्ट्रिय युवा दिवसको एउटा प्रतिकको दिनको रुपमा ऐतिहासिक बनाइ सम्झिरहेका छौ। तर, दुनियाँको हरेक दिन हामी युवाहरुको नै हो।

( लेखक अनेरास्ववियूका केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का युवा नेता हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>