Breaking News
चितवन ट्राफिक प्रहरी कार्यालयका १२ कर्मचारी क्वारेन्टिनमा, हिरासतमा रहेका सबैको स्वाब टेस्ट गरिने

काठमाडौं, साउन २५-
जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरलाई केहीदिनका लागि शिल गरिएको छ । चितवनका दुई प्रहरी र एक बन्दी (थुनुवा) मा कोरोना संक्रमण देखिएसँगै शिल गरिएको हो ।
त्यस्तै चितवन जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय (टाडी) मा कार्यरत एक प्रहरी, जिल्ला ट्राफिक कार्यालय (चितवन) मा कार्यरत एक कर्मचारी र जिल्ला प्रहरी कार्यालय (चितवन) को हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
उनीहरूको कन्ट्याक्ट ट्रेसिङका क्रममा जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय भित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन ।























