Breaking News
तीन जनामा कोरोना संक्रमण भएपछि चितवन प्रहरीको थुनुवा कक्ष शिल

चितवन, साउन २४–
दुई जना प्रहरी र एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्ष शिल गरिएको छ ।
संक्रमण पुष्टि भएलगत्तै थुनुवा कक्ष शिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘संक्रमण पुष्टि भएलगत्तै थुनुवा कक्ष शिल गरेका छौं, भेटघाट सबै बन्द गरेका छौं ।’
२० वर्षीय थुनुवा युवकलाई कोरोना संक्रमण देखिएपछि थुनुवा कक्षको सुरक्षामा खटिएका १० जना प्रहरी जवानलाई क्वारेन्टिनमा राखिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।
उनीहरुको आइतबार स्वाब संकलन गरिने एसपी गुरुङले जानकारी दिए । उनले संक्रमित दुई जना प्रहरी र थुनुवालाई उपचारका लागि भरतपुर अस्पताल पठाउन लागिएको जानकारी दिए । ‘अन्यलाई संक्रमण नहोस् भनेर अस्पतालको आइसोलेसनमा पठाउन लागेका छौं’–एसपी गुरुङले भने । उनले प्रहरी कार्यालय भित्रै तीन जनामा संक्रमण देखिएकोले थप सतर्कता अपनाईएको बताए ।
आज (शनिबार) चितवनमा तीन प्रहरी र एक थुनुवासहित ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार साँझ गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा भरतपुरमा कार्यरत ३४ र ४८ वर्षीय दुई जना प्रहरी, २० वर्षीय थुनुवा र सीमा सुरक्षा कार्यालय आँपटारीमा कार्यरत २२ वर्षीय सशस्त्र प्रहरीमा कोरोना संक्रमण भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए । सुर्खेत पिठगाउँ–२ घर भएका २२ वर्षीय कोरोना संक्रमित शसस्त्र प्रहरी जवान सुर्खेतबाट आएर प्रहरीकै क्वारेन्टिनमा बसेका थिए ।
यस्तै संक्रमण पुष्टि भएका दुई प्रहरी पनि क्वारेन्टिनमै बसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले नारायणी अनलाइनलाई जानकारी दिए ।























