Breaking News
चितवनको क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, साउन २०–
पूर्वीचितवनको खैरहनी नगरपालिका–६ मा होम क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
मृतकको स्वाब संकलन गरी भरतपुरको प्रयोगशालामा गरिएको परीक्षण नेगेटिभ आएको हो । ती व्यक्ति घर बनाउने मिस्त्री हुनुहुन्थ्यो । बाराको कलैया नगरपालिका–२१ का ३६ ती व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको खैरहनी नगरपालिका वडा नंं.६ का वडाध्यक्ष रामशरण पाण्डेले नारायणी अनलाइनलाई जानकारी दिनुभएको थियो ।
मृतकसँगै अन्य पाँच जना पनि बाराबाटै उनीहरु आएका थिए । ती व्यक्तिलाई ठेकेदारले एक बोरो कम्पनीको कोठा भाडामा लिएर क्वारेन्टिन भनेर राखेका थिए । ठेकेदारलाई पटक–पटक बाहिरबाट कामदार नल्याउन भन्दा भन्दै पनि जबरजस्ती ल्याएको वडाध्यक्ष पाण्डेको भनाइ छ ।
यस्तै मृतकसँगै रहेका अन्य पाँच जनाको पनि स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । यसअघि कालिका नगरपालिका–८ का एक पुरुषको पनि होम क्वारेन्टिनमै मृत्यु भएको थियो । भारतबाट आएका ती व्यक्तिको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।






















