Breaking News
वीरगञ्जमा आज एकैदिन कोरोनाबाट दुई जनाको मृत्यु

वीरगञ्ज, साउन १७–
पर्साको वीरगञ्जमा आज (शनिबार) एकैदिन दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ६० वर्षीया महिलाको आज (शनिबार) साँझ ६ बजे कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत ती महिलालाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०ः१२ बजे मृत्यु भएको थियो ।
























