विचार/ब्लग

आखिर धर्म के का लागि ?

Banner

मनोज घिमिरे

मेरो घर नजिकै एउटा मन्दिर छ । पूजाआजा गर्दा पुण्य प्राप्त हुन्छ भनेर मुख्य पर्व पर्ने दिन हामी सपरिवार मन्दिर जान्छौं। मन्दिरमा हरेक दिन ढुंगाको मूर्ती र हामीलाई टीका लगाइदिने पूजारीले भर्खर आफ्नो पेसा छाडेछन् । उनले पूजारीको काम किन छाडे, त्यो थाहा भएन । उनको स्थानमा अर्का नयाँ पूजारीको आगमन भएको रहेछ ।

एक दिन मन्दिरका उही पुराना पूजारीलाई भेट्न उनको घर जाँदै थिए । त्यहाँ उनको पुरानो घर थिएन । नयाँ र अग्लो पक्की घर बनिसकेको रहेछ । हाम्रा पुराना पूजारीको घर देखिनँ । लाग्यो सायद उनी यहाँ टिक्न सकेनन् । लाग्यो घर बेचेर अन्तै लागेछन् । केही बेर यही सोच्दै थिएँ । कतैबाट आवाज आयो, ‘ए भाइ !’ म फरक्क फर्किएँ । उही पुराना पूजारी रहेछन् । त्यही अग्लो घरको बाल्कोनीमा बसेका रहेछन् । एक प्रकारले खुसी पनि लाग्यो । तर पुनः सम्झिएँ, त्यही मन्दिरको अगाडि छाकको जोहो गर्न माग्न बस्नेहरुलाई । केही अन्न खान नपाएर मरिसके अनि केही आज पनि त्यही मन्दिर अगाडि कसैले केही देला भन्ने आशामा माग्न बसिरहेछन् ।

तर हाम्रा पूजारीको जीवनस्तर यसरी बदलिसकेको रहेछ । ‘यो मेरो घर हो नि’, उनले बताए । गज्जब लाग्यो मलाई । भेटी र दक्षिणा आर्जन गरेर उनले मन्दिर छेकिने गरी आलिशान महल ठड्याए । अनि मन्दिरको मूल ढोका नजिकै चिसो भूइँमा सहयोगको याचना गर्ने दीनदुःखीहरू । धर्म कमाउनका लागि हरेक दिन मन्दिर गएर ढुंगाको मुर्तीमाथि दक्षिणा चढाए र आउने मैले मन्दिर अगाडि रहेका ती दुःखीलाई खासै वास्ता नै गरिनँ । हाम्रा पूजारी अब अमेरिका जाने रे ! छोराछोरीले उतै बोलाए रे ! यसो सोचेँ, हामीले धर्म त गरेकै रहेछौं नि !

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>