चितवन विशेष
नेकपा क्रान्तिकारी माओवादीद्वारा दोषीलाई कारबाहीको माग

चितवन, साउन १२-
मोहन वैद्य निकट नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले चितवनको राप्ती नगरपालिका र माडीमा सेनाबाट ज्याजती भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
पार्टीले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको हो । पत्रकार सम्मेलनमा चितवन जिल्ला सेक्रेटरी अशोक शर्माले माडीको कुसुमखोला सुकुमबासी बस्ती आगजनीमा संलग्न दोषी उपर कडा कारबाहीको माग गर्दै पीडित सुकुमबासीको वैज्ञानिक व्यवस्थापनसहित क्षतिपूर्तिको लागि सम्बन्धित सरोकारवाला निकाय समक्ष माग गर्नुभयो । त्यसैगरी वहाँले माडीको घटना र राप्ती नगरपालिकाका राजकुमार चेपाङको मृत्यु प्रकरण हेर्दा वर्तमान राज्य व्यवस्था र प्रणालीबाट अल्पसंख्यक चेपाङ समुदायको पक्षमा काम हुन नसक्ने छर्लङ्ग भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीले वितरण गरेको विज्ञप्तिमा पार्टीले भ्रष्टचार र दण्डहिनताको दिशाविहीन गन्तव्य भित्र राज्य आतंक दिनप्रतिदिन बढाइरहेको जनाएको छ । पार्टीले राज्य सत्ताका अंगहरु सरकार, संसद, अदालत, सेना र कर्मचारी संयन्त्र कोही पनि जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएको छ । त्यस्तै पार्टीले विज्ञप्तिमा आन्तरिक र बाह्यरुपमा देशलाई स्वतन्त्र र स्वाधिन बनाउन नयाँ जनवादी क्रान्ति आवश्यक रहेको जीकिर गरेको छ ।

























