चितवन विशेष

नारायणी नदीमा पानीको बहाब बढ्दै : तटीय क्षेत्रमा झन जोखिम

Banner

नवलपरासी, साउन ६-

नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार नारायणी नदीमा आज बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा बढी पानी मापन भएमा सम्भावित जोखिमका रुपमा मानिन्छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नदीको तटीय क्षेत्रमा झन जोखिम बढ्दै गएको हो । दुवै जिल्लाका प्रशासन कार्यालयले तटीय क्षेत्रमा बस्ने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । सम्भावित जोखिमलाई मध्यनगर गर्दै विपत्को बेला आवश्यक पर्ने उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

यता नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गण्डक व्यारेजका सबै ढोका यसअगावै खोली सकिएको छ । गण्डक ब्यारेज नजिक नारायणी नदीमा गरिएको पछिल्लो मापनअनुसार चार लाख १६ हजार क्युसेक प्रति सेकेण्ड पानी मापन गरिएको छ । यद्यपि, तीन लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेपछि जोखिम मानिन्छ ।

नारायणी नदीमा पानीको बहाव बढेसँगै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा पानी पसेको छ । सुस्ताको थारु टोल र सैनिक टोलमा पानी पसेको हो । यता जिल्लाको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको गाउँबस्तीका केही स्थानसमेत डुबानमा परेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>