Breaking News
‘सरकार नागरिकको जीवनरक्षामा केन्द्रित छ, पार्टीको विवाद आन्तरिक हो’: प्रधानमन्त्री ओली

काठमाडौं, असार २६–
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय राजनीतिक विषयले चर्चा पाए पनि सरकार पूर्णरुपमा नागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन् ।
आज (शुक्रबार) साँझ नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विवाद आन्तरिक रहेको भन्दै सरकार नागरिकको जीवनरक्षामा केन्द्रित बनेको बताए । उनले भने–‘यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।’
प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद आपसी छलफलबाटै सुल्झाउने भन्दै त्यसका लागि धैर्यता र संयम आवश्यक रहेको बताए । उनले भने–‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’
प्रधानमन्त्री ओलीले आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न आफू दृढ अडान र हदैसम्मको प्रयास गर्ने बताए ।
यस्तै प्रधानमन्त्री ओलीले केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षतिले आफूलाई स्तब्ध र दुःखित तुल्याएको बताए। सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको जानकारी दिए ।
संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको प्रधानमन्त्री ओलीले बताए । उनले भने–‘यस्ता विपत्तीहरूबाट सुरक्षित हुन सरकारले उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरू मात्र होइन, विपत्तीमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रमहरू पनि सँगसँगै संचालन गरिरहेको छ ।’






















