चितवन विशेष

निम्बसले चितवनका पार्टी प्यालेस भाडामा लिएर ‘सेन्ट्रल स्टोर’ खोल्ने

Banner

चितवन, असार २५

खाद्यान्न तथा पशुपक्षीको दानालगायत कृषिसम्बन्धी व्यवसाय गरिरहेको निम्बस ग्रुपले ‘निम्बस बजार’ को सेवा देशभर पु¥याउन चितवनका पार्टी प्यालेस भाडामा लिने भएको छ ।

गत चैत ९ बाट मात्र सञ्चालनमा आएको ‘निम्बस बजार’ विशेषगरी खाद्यान्नसँग सम्बन्धित ई–कमर्स प्लेटफर्म हो। यसका बाबजुद निम्बस बजारका लागि चितवनसहित नेपालका सबै मुख्य शहरहरुमा ‘सेन्ट्रल स्टोर’ खोल्ने योजना बनाएको समूहका प्रबन्ध निर्देशक आनन्द बगरियाले बताए। देशव्यापी यस्तो सेन्ट्रल स्टोरको अवधारणा नेपाली इ–कमर्स कम्पनीहरुको सन्दर्भमा नौलो अभ्यास हो।

काठमाडौँमा व्यापार सुरु गरिसकेको कम्पनीले चितवनसहित विराटनगर, पोखरा, धनगढी र महेन्द्रनगरलगायत नेपालका सबै प्रमुख शहरमा पुग्नेगरी कम्तिमा २५ देखि ३० ठाउँमा स्टोर स्थापनाका लागि अहिले ठाउँ हेरिरहेको बगरियाको भनाइ छ। लकडाउनका कारण बन्द रहेका पार्टी प्यालेसहरुमै ‘स्पेस सेयरिङ’ मोडालिटीमा निम्बस बजारको स्टोर राख्ने योजना रहेको उनले बताए।

स्टोरका लागि व्यवस्थित संरचना र त्यहाँसम्म सामान ढुवानीका लागि आउने ट्रकहरु पार्क गर्नका लागि कम्तिमा ८–१० वटा ठूला गाडी अट्ने ठाउँ (ओपन स्पेश) चाहिन्छ । कोभिडले गर्दा चितवनका पार्टी प्यालेसहरु बन्द छन्, बिजनेस ठप्प छ। तर, लिजमा जग्गा लिएर संरचना बनाउँदा यसमा भएको ठूलो लगानीमाथि भाडाको पनि बोझ थपिइरहेकाले आम्दानीविहीन अवस्थामा लामो समय त्यतिकै राख्नुभन्दा पार्टी प्यालेसलाई यसरी वैकल्पिक प्रयोगमा लगाउँदा सञ्चालकलाई वित्तीय भार कम हुने छ।

यही अवस्थालाई दृष्टिगत गरेर बगरियाले चितवनका पार्टी प्यालेस सञ्चालकहरुसँग कुराकानी समेत गरिरहेको जानकारी दिए। ‘धेरैजना छिट्टै पार्टी प्यालेस सञ्चालनमा ल्याउन सकिने अवस्था आइहाल्ने हो कि भनेर अलिक द्विविधामा भएकाले हाम्रो प्रस्तावमा निर्णय गरिहाल्नु भएको छैन । तर भोलि पार्टी प्यालेस चलाउँदा पनि उनीहरुलाई हामीले लिएको ठाउँले असर नपर्ने गरी स्टोर राख्न प्रस्ताव गरेका हौं। काठमाडौंमा २–३ जनासहित केहीसँग सकारात्मक दिशामा कुराकानी अघि बढेको छ,’ उनी भन्छन्, ’आउँदो एक–दुई महिनाभित्रै यस्तो स्टोर शुरु गर्न सक्छौं भन्ने अपेक्षा छ।’

निम्बस बजारको एउटा सेन्ट्रल स्टोर कम्तिमा दुई हजार वर्गफीटदेखि १० हजार वर्गफिटसम्मको हुनेछ। प्रतिस्टोर कम्तिमा ५० लाखदेखि एक–डेढ करोड रुपैयाँसम्म लगानी हुने उनले बताए। यसअनुसार हाल योजनामा रहेका दुई दर्जनभन्दा बढी सेन्ट्रल स्टोरमा निम्बसले कम्तिमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

अहिले योजना बनाइएका ती स्टोरहरु खोलिसकेपछि तीन लाखको हाराहारीमा जनसंख्या भएका अन्य शहरहरुमा पनि विस्तार गर्दै लैजाने बगरियाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>