चितवन विशेष

वाग्मती प्रदेश प्रमुख प्रसाई उपचार गर्न भरतपुर अस्पतालमा

Banner

चितवन, असार २३-

भरतपुर अस्पतालमा उपचारका लागि वागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाई आज हेटौडाबाट आएका छन् ।

राजधानी काठमाडौं जतिकै विशेषज्ञ चिकित्सक रहेको र सुविधा उपलव्ध भएको भन्दै प्रसाई यहाँको सरकारी अस्पताल आएका हुन् । उनले अस्पतालका बरिष्ठ हाड जोर्नी एवम् नसा रोग विशेषज्ञ प्रा.डा. कृष्ण पौडेलसँग स्वास्थ्य परीक्षण गराए । प्रसाईको ढाड सड्किएको र कुममा समस्या भएको पौडेलले जानकारी दिए । एक सातापछि पुनः अस्पताल आउनुपर्ने उनको भर्ना छ ।

प्रमुखका स्वकीय सचिव प्रताप उप्रेतीका अनुसार उनले सधै आफ्नो उपचार सरकारी अस्पतालमा गर्दै आएका छन् । दुई दिन अघि मकवानपुर गढीबाट झर्ने क्रममा ढाड सड्किए पछि उपचारका लागि उनी भरतपुर आएका हुन् ।

उपचारपछि प्रसाईले सरकारी अस्पताल प्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नु पर्ने बताए । उनले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गरेका थिए । नेपालका सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुँदै गएको भन्दै उनले भरतपुर अस्पतालको सेवा राम्रो रहेको आफूले जानकारी पाएको बताए । यसका बारेमा आम नागरिकलाई जानकारी हुने गरी प्रचार प्रसार गर्न उनले सुझाव दिए । कोरोना भाईरस (कोभिड १९)को उपचारमा सरकारी अस्पतालहरुले पु¥याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन उनले आग्रह गरे ।

सो अवसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, अस्पताल विकास समितिका सदस्य केशव देवकोटा, प्रा. डा. कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि सो अवसरमा उपस्थित थिए । उनले आज विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि निरीक्षण गरेको उप्रेतीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>