अन्तर्राष्ट्रिय
डब्लूएचओद्वारा कोभिड–१९ का बिरामीमा मलेरिया र एचआइभीको औषधि प्रयोग बन्द

जेनेभा, असार २१-
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरिक्वीन र लोपिनएविर/रिटोनाविर औषधिको प्रयोग बन्द गरिएको बताएको छ ।
शनिबार डब्लूएचओले दुवै औषधिले कोरोनाबाट मृत्यु हुनेको दर कम गर्न नसकेको भन्दै यी औषधि प्रयोग नगर्ने निर्णय भएको जानकारी दिएको हो ।
कोरोनाविरुद्धको खोप विश्वभर विकास भइरहँदा यी औषधिले कोरोना संक्रमणलाई रोकथाम गर्ने अपेक्षा गरिएको थियो। तर परीक्षणमा यो असफल भएको डब्लूएचओको भनाइ छ ।
कोरोना भाइरसविरुद्धको खोप तथा औषधिको खोजीका लागि विश्वभर वैज्ञानिकहरु जुटिरहेका छन् । सोही क्रममा हाइड्रोक्सिक्लोरोक्वीन र लोपिनएविर/रिटोनाविरलाई सम्भावित औषधिका रुपमा लिइएको थियो ।
मलेरियाको औषधिलाई यसअघि ट्रम्पले दोहोर्याउँदै सिफारिस गरेका थिए। अमेरिकाको केही राज्यमा यो प्रयोगमा समेत आएको थियो ।
तर पछि अमेरिकाको फुड एन ड्रग एडमिनिसट्रेसनले नै हाइड्रोक्सिक्लोरोक्वीनलाई प्रयोगमा प्रतिबन्ध लगायो ।
हाल विश्वभर १ सय २० भन्दा बढी खोप विकासका क्रममा छन्।



























