राजनीति
कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौँ, असार २९ –
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ उपसमितिका संयोजक चयन गरेको छ ।
प्रतिष्ठानको पाँचौँ बैठकले उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा ६ उपसमिति संयोजक तोकेको हो । प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उपसमिति संयोजकको जिम्मेवारी तोकिएको जनाइएको छ ।
प्रतिष्ठानका अनुसार अपांगता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ चयन भएका छन् । यस्तै आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ चयन भएका छन् ।
यसैगरी, दुव्र्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा। डी।बी। सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सीताराम काफ्ले चयन भएका छन् ।
प्रतिष्ठानको बैठकले उपसमितिहरूमार्फत नीति निर्माण, अनुसन्धान तथा प्रशिक्षणका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णयसमेत गरेको जनाएको छ ।



























