देश/प्रदेश
प्रदेश र स्थानीय सरकारलाई बजेट विनियोजन गर्न निर्देशन

काठमाडौं, असार १६–
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश र स्थानीय सरकारलाई बजेट विनियोजन गर्न संघीय सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरवारमा बसेको बैठकले कोभिड–१९ को रोकथामका लागि प्रदेश र स्थानीय सरकारको सहकार्य, समन्वय र आवश्यकताको आधारमा रकम विनियोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो । प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आईसोलेशन सेन्टरको व्यवस्थापन तथा अनुगमन गर्न र उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बरामी, कर्मचारी र व्यवसायीलाई सरलीकृत गर्न सरकारलाई निर्देशन दिएको समितिकी सभापति दिलकुमारी रावल (पार्वती)ले जानकारी दिइन् ।
बैठकमा सांसदहरुले देशभरका क्वारेन्टानईन र आईसोलेशन सेन्टरहरुलाई न्यूनतम मापदण्ड तयार गरि व्यवस्थित बनाउनुपर्ने, उपत्यका आवत जावतलाई व्यवपस्थित गर्नुपर्ने, सर्वसाधारणलाई मात्रै मार पर्ने गरि नियम बनाउन नहुने विषयमा जोड दिनुभयो ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीले कोभिड १९ को रोकथामका लागि स्थानीय तहहरुमा भएका सबै खर्च केन्द्र सरकारले नै व्यवस्था गरेको जानकारी गराएका थिए ।
























