Breaking News

राष्ट्रिय सरोकार समितिले पशुपतिको जग्गा सस्तो भाडामा दिएको फेला पार्‍यो,दियो यस्तो निर्देशन

Banner

काठमाडौं,असार १४-

पशुपति क्षेत्र विकास कोषको जग्गा निकै सस्तो मूल्यमा भाडामा लगाएको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले ‘पशुपति क्षेत्र विकास कोषको अध्ययन गर्न गठन गरेको उपसमितिका अनुसार पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गा वार्षिक २ मुरी धान दिने गरी भाडामा लगाएको फेला पारेको छ ।

पशुपति मन्दिर आसपासमै धेरै महंगा सटरहरु छन् । द्वारिकाज होटलले पनि पशुपति क्षेत्र विकास कोषको जग्गा प्रयोग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ९९ वर्षका लागि ११ सय ६१ रोपनी भाडामा लिएको छ । २०७४ देखि कोषलाई वार्षिक करिब एक करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको छ । त्यसअघि विमानस्थलले प्रतिरोपनी एक मुरी तीन पाथी धान उपलब्ध गराउने गरेको जनाइएको छ ।
तीलगंगा आंखा अस्पतालले कोषसँग करिब ५ रोपनी जग्गा ४९ वर्षका लागि लिजमा लिएको छ । उसले प्रतिरोपनी वार्षिक ४० हजार भाडा तिर्छ । यो भाडा पनि समयाअनुकुल नभएको भन्दै पुनरावलोकन आवश्यक रहेको समितिको ठहर छ ।

‘एक रोपनी जग्गाको भाडा बार्षिक दुई मुरी धान ?’ समितिका सदस्य सांसद जीवन बुढाको प्रश्न छ, ‘यो त पशुपतिलाई अन्याय हो ।’ उपसमितिले पशुपति क्षेत्रका व्यापारिक भवनको भाडा पुनरावलोकन गर्न सुझाव दिएको छ । आइतबार मूल समितिमा बुझाइएको प्रतिवेदनको सुझाव खण्डमा लेखिएको छ, ‘पशुपति क्षेत्रभित्रका व्यक्तिगत तथा व्यवसायिक भवनहरु र जग्गाको भाडा समयानुकुल वृद्धि गर्न मिल्ने गरी तत्काल विद्यमान कानुन परिमार्जन गर्ने ।’ पशुपति क्षेत्रको सम्पत्तिको हिसाब किताब नभएको, सम्पत्तिको सही व्यवस्थापन नभएको, जग्गामा स्वामित्वको विवाद देखिएको उपसमितिले जनाएको छ ।

समिति सभापति दिलकुमारी रावल पार्वतीले गृहमन्त्रालय, पर्यटन मन्त्रालय, भूमि मन्त्रालय तथा पशुपति विकास क्षेत्र कोषका पदाधिकारीसँग छलफल गर्ने ठोस निष्कर्षमा पुग्ने तयारी रहेको बताइन् । ‘ समिति बैठकमा उपस्थित भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले पशुपति क्षेत्रको जग्गा राज गुठीको नाममा रहेकाले राज्यको पनि अधिकार नहुने र अरुले प्रयोग गर्न नपाउने बताइन् । कानुन नहुँदा गुठी जग्गा असुरक्षित भएको पनि उनको विश्लेषण छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>