Breaking News
बामदेव गौतमले भने – दशगजाको दुवैतर्फ अग्ला पर्खाल लगाउनु पर्छ

काठमाडौँ, असार १४–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले नेपाल-भारतको सिमानामा पाँच मिटर अग्ला पर्खाल लगाउनुपर्ने बताएका छन् ।
दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने उपाध्यक्ष गौतमले बताएका हुन्।
पार्टी स्थायी कमिटिको बैठकमा उपाध्यक्ष गौतमले अब ढिला नगरी नेपाल-भारतबिच रहेको खुल्ला सिमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नु पर्ने धारणा व्यक्त गरेका हुन् । तर प्रवेशाज्ञा भने निशुल्क उपलब्ध हुनुपर्ने उनको भनाई छ ।
गौतमले दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या शान्तिवार्ताबाट नै समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
तत्कालीन अवस्थामा महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले सरकार र पार्टीको नेतृत्वमा भएकोले महाकाली सन्धी गर्दा महाकालीको मुहान नै प्रष्ट नभै सन्धि गर्न हतारिएकै कारण लिम्पियाधुरा लिपुलेक र कालापानी भारतले मिचेको बताए।
‘महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ र दमन खेप्न पर्यो’, बैठकमा गौतमले भने, ‘महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ, उहाँले क्षमायाचना गरेर मलाई सम्मान गर्नुपर्छ।’
भारतसँग वार्ता र छलफलबाटै सीमा समस्या समाधान गर्नुपर्ने बताउँदै उपाध्यक्ष गौतमले वार्ता गर्न नमाने दबेर बस्नु नहुने र विकल्पमा छलफल गर्नुपर्ने धारणा राखेका थिए।
यस्तै गौतमले सिंगो राष्ट्रलाई एकतावद्धगरी अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको समेत उल्लेख गरेका छन् । भारतीय सेनाा नेपाली भूमिबाट हट्दासाथ शतप्रतिशत विजय हासिल हुने उनको भनाई छ ।
























