चितवन विशेष
चितवन मेडिकल कलेजमा कोरोना संक्रमितका लागि छुट्टै आइसीयू तयार

चितवन, असार १३–
चितवन मेडिकल कलेज (सिएमसी)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि छुट्टै सघन कक्ष (आइसीयू) तयार पारेको छ । रोटरी क्लव अफ चितवनको सहयोगमा सिएमसीले ३० बेडको भेन्टिलेटरसहितको आइसीयू कक्ष तयार पारेको हो ।
३० बेडको आइसीयूमा ३० वटा नै भेन्टिलेटर राखिएको छ । ती ३० वटा भेन्टिलेटर रोटरी क्लव अफ चितवनले सहयोग गरेको हो । आइसीयू कक्षको आज (शनिबार) एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, रोटरी क्लव अफ चितवनका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।
चितवन मेडिकल कलेजले आइसीयू तयार पारे पनि संक्रमितका लागि उपचार गर्न स्वीकृति पाएको छैन । सरकारले स्वीकृति दिएमा मात्रै कोरोना संक्रमण पुष्टि भएका बिरामीको उपचार गर्न पाउँछ । हाल अन्य रोगको उपचारका लागि आउने शंकास्पद बिरामीहरुलाई छुट्टै आइसोलेसन कक्षमा राखेर उपचार गर्दै आइरहेको छ ।
सिएमसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले सरकारले स्वीकृति दिनुभन्दा अगावै चितवन मेडिकल कलेज तयार भएर बसेको बताए । उनले भने–‘सरकारले स्वीकृति दिएको छैन, तर हामी तयारी अवस्थामा छौं ।’ उनले कोरोनाको उपचारका लागि आफूहरु तयार रहेको बारे सरकारलाई जानकारी गराउँदै अनमुति समेत माग गरिएको बताए । ‘अनुमति मागेको छौं, तर अहिलेसम्म स्वीकृति पाएका छैनौं’–अध्यक्ष प्रा.डा.न्यौपानेले भने ।
बिहीबार मात्रै सिमएसीमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि तत्कालै ती बिरामीलाई भरतपुर अस्पताल सारिएको थियो । उनको आज (शनिबार) बिहान मृत्यु भएको छ ।
चितवनमा हालसम्म भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर अस्पतालले मात्रै कोरोना संक्रमितको उपचार गर्न पाउने स्वीकृति पाएको छ ।






















