चितवन विशेष

किसानको ऋणको २ प्रतिशत ब्याज महानगरले व्यहोर्ने

Banner

चितवन, असार १०–

भरतपुर महानगरपालिकाले यसवर्ष कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । युवाहरुलाई कृषि पेशाप्रति आकर्षित गर्न र किसानहरुलाई बचाउने गरी नीति तथा कार्यक्रम ल्याएको छ ।

महानगरले कृषि तथा पशुसेवा अन्तरगत कृषिमा अनुदान दिने प्रणालीमा समसामयिक सुधार गर्दै ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम ल्याएको छ । यस अन्तरगत महानगरले न्यूनतम ब्याजमा कृषकलाई ऋण उपलब्ध गराउने छ । यस्तो ऋणमा २५ लाखसम्म लिँदा २ प्रतिशत ब्याज महानगरपालिकाले व्यहोर्ने नीति लिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले कृषिलाई पहिलो प्राथमिकतामा राखिएकोले सहुलियत ऋणको व्यवस्था गरिएको बताइन् ।

महानगरले गतवर्ष कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको थियो । तर त्यो कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन हुन सकेन् । सोही कार्यक्रमलाई अघि बढाउन महानगरले यसपटक केही विषयलाई परिमार्जन गरेको छ । यसवर्ष निजी क्षेत्रको सहकार्यमा कृषकले चाहेको बेलामा कृषि यन्त्र उपकरण उपलब्ध गराउन एक कस्टम हायरिंग केन्द्र स्थापना गर्ने महानगरले नीति बनाएको छ ।

यस्तै महानगरले कृषियोग्य जमिन बाँझो राख्न नदिने नीति लिएको छ । बाँझो जमिनमा खेती गर्न चाहने किसानलाई उत्पादनको मात्राका आधारमा अनुदान दिने व्यवस्था गरेको छ । खाली जमिनमा असल कृषि अभ्यास तथा जलवायु स्मार्ट कृषि कार्यक्रम संचालन गर्ने महानगरले जनाएको छ ।

यस्तै महानगरपालिकाले स्थानीय कृषि उत्पादनको व्यवस्थित बजारीकरणका लागि महानगरभित्रका सबै हाटबजारहरुमा स्वदेशी उत्पादन मात्र बिक्री गर्न ‘हाम्रो हाटबजार स्थानीय उत्पादन कार्यक्रम’ संचालन गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>