चितवन विशेष
लकडाउनमा सकारात्मक वातावरण बनाउन अंकुरमको विशेष कार्यक्रम

चितवन, जेठ ३२-
भरतपुरको तेह् साल चोकमा रहेको अंकुरम एकेडेमीले लकडाउनमा बालबालिकाको घरमा सकारात्मक वातावरण निर्माणसम्बन्धी एक कार्यक्रम गरेको छ ।
हरेक हप्ता विशेष प्रकारका कार्यक्रमहरु गर्दै आएको एकेडेमीले अभिभावकसँग ‘जुम’ सफ्टवयरको माध्यमबाट सो कार्यक्रम गरेको हो । कार्यक्रममा ‘माई इमोशन्स म्याटर्स’ का सहसंस्थापकद्वय भावना श्रेष्ठ र सागर सत्यालले प्रस्तुति एवम् अन्तरक्रिया गरेका थिए ।
\भावनात्मक चातुर्यमा एमफील गरेकी भावना श्रेष्ठले २०० जना विद्यार्थीको भावनात्मक चातुर्य र भावनाको असरबारे अनुसन्धान गरेकी छन् । त्यस्तै अर्का सहसंस्थापक सागर सत्याल २०१३ मा द. अफ्रिकामा आयोजित ‘सीआईएमए ग्लोबल बिजनेस च्यालेन्ज’ मा नेपालको प्रतिनिधित्व गर्नुहुँदा नेपाल र अन्य सहभागी देशका प्रतिस्पर्धीहरु बीचको शैक्षिक खाडल बुझेपछी शिक्षा र भावनात्मक चातुर्यको विधामा काम गर्दै आएका छन् ।
यस कार्यक्रमको मुख्य उद्देश्य भनेको यस कोभिड(१९ महामारीको समयमा बच्चाहरूको शिक्षाको लागि अनुकुल वातावरण निर्माण गर्न आमा बुबाहरुले के गरिरहनु भएको छ भन्ने कुरामा चिन्तन गर्नु रहेको उक्त विद्यालयका प्राध्यानाध्यापक सुमन पौडेलले जानकारी दिए ।
कार्यक्रममा अभिभावकले आफ्ना बाबुनानीलाई यो लकडाउनको बेलामा सक्रिय गराउन के कस्ता कामहरु गरिरहेका छन् भन्ने बारेमा छलफल गरिएको थियो। त्यस्तै गरी बालबालिकालाई सिजर्नशील काममा सामेल गराउन के कस्ता चुनौती सामना गर्नुपरेको छ, बच्चाहरूको भावनात्मक चातुर्यको विस्तारका लागि बच्चासँग संलग्न अन्य गतिविधिहरू के के हुन् लगायतका विषयमा अन्तरक्रिया भएको थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा भावना श्रेष्ठले किनोट प्रस्तुति दिँदै, हाम्रा भावनाहरुले हामीमा कस्तो असर गर्दछन् भन्ने कुराको जानकारी दिए । उनले रिस र आवेगमा आएका बालबालिकाले पठनपाठनलगायतका काममा ध्यान दिन नसक्ने बताउँदै उनीहरुलाई हरदम खुसी राख्न सके उनीहरुले राम्रोसँग पठनपाठन गर्न सक्ने र अन्य काम पनि ध्यान दिएर गर्न सक्ने कुरा बताए । त्यस्तै उनले मानवको संवेदना र भावनाले जुनसुकै कामलाई पनि प्रभावित पार्ने हुनाले तिनको उचित व्यवस्थापन आवस्यक रहेको बताउँदै जसको लागि भावनात्मक चातुर्य आवश्यक रहेको पनि उनले अवगत गराइन् ।
भावनात्मक चातुर्यको बारेमा व्याख्या गर्दै भावना श्रेष्ठले भनिन्, भावनात्मक चातुर्य अर्थात् अंग्रेजीमा ‘इमोसनल ईन्टेलिजेन्स’ भनेको आफ्नै र आफू वरिपरिका व्यक्तिहरुका भावनाहरू बुझ्ने र व्यवस्थापन गर्ने क्षमता हो। उच्च भावनात्मक चातुर्य भएका मानिसलाई आफूले के महसुस गरिरहेको हुन्छ, आफ्ना भावनाको अर्थ के हो र यी भावनाले अन्य व्यक्तिलाई कसरी असर गर्न सक्छ भन्ने कुरामा राम्रो ज्ञान हुन्छ ।’ यस्तो ज्ञान भएको खण्डमा सिकाइ छरितो र दिगो हुने पनि उनले जानकारी दिए ।
करिब १५० जनाले दर्ता गरेको यस कार्यक्रममा जुम सफ्टवयरको सिमितताका कारण १०० जना सहभागीले मात्र प्रत्यक्ष सहभागिता जनाएका थिए भने अंकुरम एकेडेमीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत पनि करिब १०० जना भन्दा बढीले अप्रत्यक्ष सहभागिता जनाएका थिए। कार्यक्रमको सफतलाबाट प्रभावित हुनुभएका अंकुरम एकेडेमीका प्राधानाध्यपक सुमन पौडेलले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

























