Breaking News
सरकार असफल भएको कांग्रेसको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं, जेठ २८-
कोरोना संक्रमण रोकथामका लागि सरकार पूर्णरुपमा असफल रहेको निष्कर्ष निकाल्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको टोलीले प्रधानमन्त्री ओलीलाई बुधबार भेटेर २ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जेठ २६ गते सानेपामा बसेको बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे गहन छलफलपछि गरेको महत्वपूर्ण निर्णयका आधारमा सरकारको ध्यानाकर्षण गरिएको हो।
कोरोना भाइरस रोकथाममा सरकार गम्भीर नदेखिएको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘सरकारको यति दिनको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा देखिएको छैन । समग्रमा नेपाल सरकार कोभिड १९ को जोखिमपूर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्षम हुन सकेको छैन । प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ र सुझावका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएको छ ।’
प्रधानमन्त्रीलाई बुझाएको पत्रमा राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरीदमा पटक पटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको उल्लेख गर्दै भनिएको छ, ‘कमीसनको कारणले सामग्री आपूर्तिमा ढिलो भएको छ । सरकारले दश अर्ब खर्च भएको भनेको तर सो अनुसार काम देखिएको छैन ।’






















