चितवन विशेष
भरतपुरको ११ नम्बर वडामा कोरोना त्रास, घरबाहिर ननिस्कन निर्देशन

चितवन, जेठ २७-
भरतपुर महानगरपालिका–११ बसेनी कोलटाँडीका एक जना ६८ वर्षको पुरुषको आज बिहान कोरोनाको कारणले निधन भएपछि स्थानीय क्षेत्रमा त्रास बढेको छ ।
आज चितवनका अधिकांश नागरिकले सामाजिक सञ्जालमा चासो र त्रास व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–११ वडा कार्यालयले पनि आज एक सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन वडाबासीलाई आग्रह गरेको छ । वडा अध्यक्ष बाबुराम अधिकारीले जारी गरेको सूचनामा कोरोना महामारी घरआगनमा भित्रिसकेको भन्दै सामाजिक दूरी कायम गरी सर्तक रहन अनुरोध गरिएको छ । व्यक्तिमा सकारात्मक सोचको विकास गर्दै बच र बचाउको मूमर्मबाट अगाडि बढ्न अनुरोध गरिएको छ ।
त्यसैगरी भरतपुर ११ नम्बर वडा नेपाली कांग्रेस चितवनका क्षेत्रीय प्रतिनिधि ज्ञानेन्द्र गिरीले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै कोरोनाको फैलिँदो संक्रमणले वडाबासीलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले पनि सर्तक र सचेत रहन सबैमा अनुरोध गरेका छन् । साथै नेत गिरीले यस असहज अवस्थामा वडा कार्यालयले आवश्यक कदम चाल्नुपर्ने पनि विचार राखेका छन् । फेसबुक सामाजिक सञ्जालमा अधिकांश वडाबासीले यस क्षेत्रमा कोरोना फैलन सक्ने भन्दै चितवनका अन्य क्षेत्र भन्दा बढी चासो र चिन्ता व्यक्त गरेका छन् ।























