Breaking News
स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं, जेठ २१–
सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय समेत गरि सकेको छ ।
आज (बुधबार) मन्त्रालयमा बसेको बैठकको यस्तो निर्णय गरेको हो । मन्त्रालयले गरेको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ।
संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ।
सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए ।
स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका कोभिड–१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ। सो मापदण्डअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक) हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ । लक्षण नभएका र हल्का लक्षण भएकाहरू घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि पालना गर्नुपर्ने शर्तहरू छन् ।
हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभरबाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत् मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्नेलगायत छन् ।
यसरी आइसोलेनमा बसेकाहरूमध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरू १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ।
मन्त्रालयले गत मे महिनामा बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ।
























