विशेष
डब्लुएचओसंगको सबै प्रकारको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

वासिङ्टन, जेठ १७–
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्।
ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो।
ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै डब्लुएचओसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको जनाएको छ । अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ। धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन्। ट्रम्पको यस कदमलाई उनको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ।
हाल विश्व स्वास्थ्य संगठनमा विश्वका १९४ राष्ट्र आबद्ध छन्।
ट्रम्पको यो निर्णय कहिलेबाट कार्यन्वयनमा आउनेछ भन्ने बारेमा भने केही खुलाइएको छैन। सन् १९४८ मा संगठनसँग जोडिएको अमेरिकालाई संगठनसँग १ वर्षको समयसीमा दिएर अलग हुने अधिकार छ।
विश्व स्वास्थ्य संगठनले पछिल्लो अमेरिकी कदममा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन।























