Breaking News
ठोरीमा भारतीयको दादागिरी, नेपालभित्र प्रवेश गरेर कुलो खन्न थालेपछि विवाद (भिडियो)

सुदिप थापा
ठोरी, जेठ १५–
पर्साको ठोरीमा सिमा क्षेत्रबाट १०० मिटर भित्र नेपाल छिरेर भारतीयहरुले दादागिरी मच्चाएका छन् । आज (बिीबार) बर्दी र हतियारसहितका भारतीय प्रहरी, एसएसबी, सयौंको संख्यामा स्थानीय नेपाल छिरेर दादागिरी मच्चाएका हुन् ।
हुलाकी सडक खण्डमा निर्माण भएको ठुटेखोला पुल संचालन गर्न पूर्वतर्फ रहेको खोल्चा पुरेपछि भारतीय पक्षले नेपालीभुमी पसेर दादागीरी मच्चाएका हुन् । पुलको पूर्वीभागबाट ५० मिटर दुरी भित्र ३ वटा कुलो थियो । जसमध्ये २ वटा कुलोको पानी भारतले प्रयोग गर्दै आइरहेको थियो भने एउटा कुलो नेपालले प्रयोग गर्दै आइरहेको थियो ।
पुल बनेपछि बाटो संचालन गर्नका लागि एउटा कुलो पुर्नु परेको थियो । नेपाली पक्षले एउटा कुलो पुरेर एउटा भारततर्फ पानी पठाएको थियो भने एउटा नेपाल पक्षले आफूले प्रयोग गर्नका लागि तयार पारेको थियो । तर भारतीय पक्षले दुई वटै कुलो आफूले प्रयोग गर्न पाउनु पर्ने भन्दै पुरेको कुलो खन्न आएका थिए । दुई वटा कुलोको भौगोलिक अवस्थालाई मध्यनजर गरेर जेठ १० गते जनप्रतिनिधि र सरोकारवाला बैठकले ३ वटा कुलो मध्ये २ कुलोमा कलभर्ट हाल्ने र १ कुलो पुर्ने निर्णय गरी १४ गतेबाट पुल संचालनमा ल्याएको थियो ।
तर सो निर्णयको विरोध गर्दै भारतीयहरु दलबलसहित आएर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गर्दा झडपको स्थिति सृजना भएको थियो । एउटा कुलो नपुरेसम्म पुल संचालन नहुने भएकाले नेपाली पक्षले कुलो पुरेको हो ।
























