Breaking News
अब पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको फोटो अंकित नोट नचल्ने, स्टिच लगाउन पनि रोक

काठमाडौं, जेठ ११-
नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।
राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो।
नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ । ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउनेगरी नयाँ ब्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।
बैंकहरुले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।
रातो क्लिप भएका नोटलाई बजारमा पठाउन पाइने छैन । यस्तो नोटलाई राष्ट्र बैंकमा खाता भएकाले राष्ट्र बैंकमा र राष्ट्र बैंकमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैंकमा त्यस्तो नोट बुझाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
बजारमा पठाउन योग्य नोटलाई अनिवार्य रुपमा संक्रमण हित बनाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै नोट राख्ने दराज, भल्ट, फर्निचर वा नोट ओसारपसार गर्ने सामाग्री पनि सफा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न पाउँने छैनन् । रबर, प्लाष्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइने व्यवस्था गरेको छ ।
























