नवलपरासी
नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ५ पुग्यो

सहबान अन्सारी
नवलपरासी, जेठ ९–
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा एकैपटक थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान रामग्रामका दुई महिला र सुस्ताका एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रामग्राम–३ घोडपालीका ३३ वर्षीय पुरुष, रामग्राम १८ की १५ वर्षीया महिला र सुस्ता गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।
त्यस्तै बुधबार पनि सुस्ता गाउँपालिका वडा नं. ५ बेलवानीका एक २६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । यससंगै नवलपरासी पश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ ।
सुस्तामा २, प्रतापपुरमा १ र रामग्राममा २ जना गरी ५ जनाको संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित सबै भारतबाट आएका थिए भने शुक्रबार भेटिएका तीन जना नै भारतबाटै आएका हुन् वा होइनन् भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिए ।
रामग्राम र सुस्ताबाट केहि दिन अघि स्वाब संकलन गरी परीक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको थियो । जसमध्ये रामग्रामका ५४ जनाको रिपोर्ट आएकोमा दुई जनाको पोजिटिभ र अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
शुक्रबार संक्रमण देखिएको स्थानमा जिल्ला स्वास्थ्य कार्यालबाट कन्ट्रयाक ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली त्यस स्थान पुगेको छ ।
























